• १३ साउन २०८१, आइतबार

पानी पर्दा किसान खुसी

blog

हरि कोइराला

उर्लाबारी, वैशाख ३० गते । मोरङका अधिकांश स्थानमा लामो समयको खडेरीपछि आइतबार बिहान पानी परेको छ । पानी परेसँगै किसानको पछुवा मकैबालीलाई राहत भएको छ ।

मोरङका केही स्थानमा बाहेक फागुन यता पानी परेको थिएन । पानी नपर्दा जङ्गल भित्रका पानीका मुहान सुकेका थिए । आइतबार बिहानदेखि जिल्लाका सबै ठाउँमा पानी परेको छ । लामो समय खडेरी पर्दा मोरङको कानेपोखरी क्षेत्रका भलुवा, सुकुना खोलाका मुहान सुकेका थिए ।

स्थानीय सय वर्षीय छविलाल पराजुलीले भन्नुभयो, ‘‘म २०२७ सालमा तेह्रथुमबाट बसाइ सरेर यो ठाउँमा आएको हुँ । ५४ वर्षयता यो ठाउँका चापाकल, पानीका मुहान सुकेको सम्झना थिएन् । जङ्गल नजिकैको गाउँका सबै पैनी भलुवा र सकुनाको पैनीले भरिभराउ हुन्थे । यो वर्ष बालीनाली सुकेर पराल भएको छ । पानीको मुहान मात्र होइन, घरका चापाकल, पानी तान्ने बोरिङसमेत सुकेका छन् ।’’

उता, उर्लाबारी क्षेत्रको बेतनी सिमसारमा समेत पानीको सतह घटेको थियो । लामपाते सिमसारमा कमिला हिँड्न थालेका थिए । पानी परेपछि मुहान रसाउन थाल्ने स्थानीयको भनाइ छ ।

जङ्गलको छेउमा खानेपानी आयोजनाले ठुला ठुला मोटरपम्प राखेर पानी तान्ने गरेकाले सिमसार क्षेत्र सुकेको कानेपोखरी–७ का पदमप्रसाद कोइरालाले बताउनुभयो ।

‘‘सदियौं पुराना पानीका मुहान सुकेका छन् । खडेरीकै कारणले मात्र यस अघि कहिलै नसुकेका पानीका मुहान सुक्नुको प्रमुख कारण खानेपानी आयोजना निर्माण हुनु पनि हो ।’’ कोइरालाले भन्नुभयो । बाह्रै महिना पानी बग्ने कानेपोखरी–७ को बैकुण्ठघाटमा पानीको थोपा छैन । गाउँपालिका र कानेपोखरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दुई किलोमिटर पाइप बिच्छ्याएर चिता पखाल्ने पानी बैकुण्ठघाटसम्म पुर्‍याएको छ । 

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा समेत पानीका मुहानमा असर परेको सडक किरानामा बसोबास गर्नेहरू बताउँछन् । पथरीशनिश्चरे–१० जिरिखिम्तीका लक्ष्मीप्रसाद भट्टराईले भन्नुभयो, ‘‘एकपटक पाइप गाडेपछि नपेलिकन पाइपभरि पानी आइरहन्थ्यो । अहिले पाइपको एकचौथाई मात्र पानी आउँछ ।’’

यता आइतबार राती पानी परेपछि लेटाङको तेलि, मिक्लु खोलामा बाढी आएको छ । डाँस, मोरङ्गी खोलाको मुहान समेत फुटेको छ ।