जनार्जन खत्री
सर्लाही, वैशाख २९ गते । लालबन्दी नगरपालिका ५ र १० मा अतिविपन्न तीन परिवारलाई आवास (घर) निर्माण गरी हस्तान्तरण गरिएको छ । मधेश सरकारको महेन्द्र नारायण निधी आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर शनिबार सम्बन्धित लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको हो ।
घर प्राप्त गर्नेमा लालबन्दी नगरपालिका–५, मेजरगञ्जका हरि घमला, मैतीदेवी मोक्तान र लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका गणेशबहादुर मिरिङचिङको परिवार रहेको छ ।
मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी ५ का वडाध्यक्ष मीनप्रसाद ढुङ्गेललगायत भएर लाभग्राही परिवारलाई घर हस्तान्तरण गर्नुभएको छ । प्रत्येक परिवारलाई जस्तापाताले छाएको दुईवटा कोठा, एउटा किचेन र शौचालयसहितको पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको हो ।
एउटा घर निर्माणका लागि पाँच लाख रुपियाँ खर्च भएको छ । प्रदेश सरकारकी मन्त्री लुङ्गीलेको पहलमा पक्की घर पाएपछि आर्थिक अवस्था कमजोर रहेका धमला, मोक्तान र मिरिङचिङ परिवार दङ्ग परेका छन् ।