• १३ साउन २०८१, आइतबार

सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दो

blog

सुनसरीको धरान–६ पानवारी क्षेत्रमा किसानले लगाएको सुपारी खेती । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, वैशाख २९ गते । हरिया सागसब्जी फलफूल र तरकारी उत्पादन गर्दै आएका पानवारीका किसानहरू पछिल्लो समय सुपारी खेतीतर्फ आकर्षित भएका छन् । पानवारी, ठिंगाबारी क्षेत्रका किसानहरू पछिल्ला केही वर्षदेखि सुपारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि सुपारी खेतीतर्फ आकर्षित भएका हुन् ।

सुनसरीको धरान–६ स्थित पानबारी क्षेत्र सुपारी खेतीको लागि राम्रो उत्पादन हुने क्षेत्र बन्दै गएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुपारी खेती पानवारीपछि वराहक्षेत्रको प्रकाशपुर, चक्रघट्टी क्षेत्रमा बढी मात्रमा खेत हुने गरेको छ । 

हरिया सागसब्जी फलफूल तरकारी उत्पादन मात्र गर्दै आएको पानबारी, ठिंगाबारी क्षेत्रमा पछिल्लो समयमा वार्षिक ४० लाख रुपियाँ सम्मको सुपारी उत्पादन हुँदै आएको छ।

स्थानीय युवा कृषक विष्णु कुँवरले भन्नुभयो, "जुट, कफी, उखु, केरा र सुन्तला जस्तै यो पनि नगदेबाली हो । रोपेको केही वर्षदेखि फल्ने र अरू बाली जस्तो मिहिनेत गर्न नपर्ने हुँदा किसानहरू सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।"

पानबारी क्षेत्रका अधिकांश किसानहरू सुपारी खेती गदै आएको स्थानीय जनप्रतिनिधि नारायण निरौलाले बताउनुभयो । उहाँका अनुसार एउटा किसानबाट वार्षिक रुपमा सात हजारदेखि एक लाख रुपियाँसम्मको सुपारी बिक्री गर्दै आएका छन् । पानवारीको स्कुल डाँडाल लिम्बु चौरी लगायतका स्थानमा किसानहरूले व्यावसायिक रुपमा सुपारी उत्पादन गर्दै आएका छन् ।

सुपारीको बजार राम्रो भएकाले किसानहरू त्यसतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । सुपारीको प्रयोग व्यापारीहरूले रजनीगन्धा, मधु, पानमा हाल्न लगायत धार्मिक कार्यहरूको बढी प्रयोग हुँदै आएको छ । एक नम्बरी सुपारीबाट रजनीगन्धा र दुई नम्बरी सुपारीबाट मधु, पराग बनाइ व्यापारीहरूले बोटमै आएर सुपारी खरिद गर्दै आएका छन् । सुपारी धेरै समयसम्म टिकाउ हुने हुँदा किसानलाई समेत घाटा नहुने ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

सुपारी उत्पादनमा नेपाल तेस्रो स्थानमा छ । सुपारी बढी भन्दा बढी उत्पादन गरेपनि बिक्री गर्न चिन्ता नहुने स्थानीय कृषक वसन्त न्यौपाने बताउनुहुन्छ । नेपालमा उत्पादित सुपारी व्यापारी मार्फत भारत र बङ्गालसम्म जाने गरेको छ । पहिला किसानहरूले घर आँगनमा सजाउनका लागि करेसाबारीमा सुपारी रोप्ने गरेका थिए । एक दशकदेखि किसानहरू सुपारी खेतीलाई बढाउँदै लगेको कृषक विष्णु कुँवर बताउनुहुन्छ । उहाँले चार कठ्ठा क्षेत्रफलमा सुपारी खेती गर्दै आउनुभएको छ । सुपारी उत्पादन हुने व्यावसायिक क्षेत्रको रुपमा पानबारी चिनिँदै गएको हो । पानबारी र वराहक्षेत्रमा दश निगाह भन्दा बढी क्षेत्रफमा सुपारी खेती हुँदै आएको छ ।  

पानबारी र ठिंगाबारीका कृषकले सुपारी खेतीबाट राम्रो आम्दानी गर्दै आएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । सुपारी खेतीको लागी पानवारी क्षेत्रको माटो उर्वर भएकाले खेती राम्रो हुँदै आएको छ । सुपारी खेतीको लागि गरम ओसिलो हावापानी भएको क्षेत्रमा खेती राम्रो हुने गरेको छ । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, सप्तरी लगायत तराईका जिल्लाहरू सुपारी खेतीको लागी राम्रो मानिँदै आएको कृषि प्रविधिकहरु बताउँछन् । पछिल्लो समय तराईका जिल्लाहरूमा व्यावसायिक रुपमामै सुपारी खेती गर्ने कृषकहरू बढ्दै गएका छन् । 

किसानहरूले एक कठ्ठादेखि विगाहसम्म खेती हुँदै आएको हो । सुपारीको बोटसँगै किसानहरूले ल्वाङ, मरिज, पानको बिरुवा पनि रोपेर अतिरिक्त आम्दानी लिँदै आएका छन् । सुपारी खेती गर्ने कृषकहरूलाई सरकाले अनुदानको व्यवस्था गर्नुपर्ने किसानहरू बताउँछन् । सुपारीको व्यावसायिक खेती बढाउन किसानहरू लाई तालिम र अनुदानको व्यवस्था मिलाए पूर्वी नेपाल सुपारी खेतीको प्रमुख स्थान बन्ने कृषकहरू बताउँछन् ।