• ८ जेठ २०८१, मङ्गलबार

बिहीबारदेखि सञ्चालनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ९ गते । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेबाट सञ्चालनमा आएको छ । व्यावसायिक उडान सुरु भएसँगै जजिरा एअरलाइन्सले उडान भर्ने भएको छ । अबदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालन हुनेछ ।

राष्ट्रिय गौरवको रुपमा रहेको विकास आयोजना अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएपछि यसक्षेत्रमा उत्साह थपिएको छ । अब नियमित जसो उडान हुने खबरले  स्थानीयहरु हौसिएका छन् भने व्यवसायीहरु निकै उत्साहित र आशावादी देखिएका हुन् ।


अब जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमित भन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताउनुभयो ।

सञ्चालनमा आएको नयाँ धावनमार्गमा आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण थालिसकेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि जहाज उडान अवतरणमा कुनै समस्या भएमा भैरहवामा अवतरण गराउन सकिनेछ । यसले गर्दा आकाशमा एयरट्राफिकको समस्या समाधान हुने अपेक्षा गरिएको छ । 

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ । नयाँ धावनमार्गको ४५ मिटर चौडाइ र तीन हजार मिटर लम्बाइ छ ।  

विमानस्थल सञ्चालनले लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भइ पर्यटन प्रवर्धनमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइको भनाइ छ  ।

हिजोदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो उडान र अवतरण । 

भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । तस्विरहरु: कपिल ज्ञवाली