• ७ जेठ २०८१, सोमबार

प्लाइउड उद्योगमा तीन सय स्थानीयलाई रोजगारी

blog

बाँकेको एक प्लाइउड उद्योगमा काम गर्दै स्थानीय मजदुर। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २७ गते। नेपालबाट भारततर्फ प्लाइउड निर्यात वृद्धि हुन थालेसँगै स्थानीय प्लाइउड उद्योगले उत्पादन बढाउन थालेका छन्। उत्पादन वृद्धिका लागि ती उद्योगले बढी भन्दा बढी कामदार राखेर उनीहरूलाई रोजगारी दिन थालेका हुन्। 

सोही क्रममा बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजले तीन सय मजदुरलाई रोजगारी दिएको छ। 

विगत चार वर्षदेखि सञ्चालित सो उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयले मजदुरका रूपमा काम गर्दै आएका छन्। 

खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँका तीन सय बढी स्थानीयलाई यो उद्योगले रोजगारी दिएको हो। 

उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताउनुभयो। देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा यो उद्योगले गाउँमै रोजगारी दिएर ठुलो गुन लगाएको उहाँले बताउनुभयो। 

प्लाइउड उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताउनुभयो। प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा उद्योगले दैनिक करिब पाँच लाख घाटा व्यहोर्दै आएको छ। 

पछिल्लो समयमा प्लाइउड भारत निकासी हुन थालेपछि बाँकेमा प्लाइउड उद्योग खुल्ने क्रम बढेको छ।