• ७ जेठ २०८१, सोमबार

अग्निपीडितलाई राहत प्रदान

blog

अग्निपीडितलाई राहत प्रदान गर्नु हुँदै प्रजिअ काफ्ले । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २७ गते । 
रामपुर नगरपालिका ४ र ५ का अग्निपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय पाल्पाले राहत प्रदान गरेको छ । जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि भएको आगलागीले पूर्णरुपमा घर क्षति भएका पीडित परिवारलाई  राहत उपलब्ध गराएको हो ।

जिल्लास्थित विपद् व्यवस्थापन कोषमार्फत कार्यालयले रामपुर नगरपालिका, पूर्वखोला र माथागढी गाउँपालिकाका अनिपीडितहरुलाई १५ हजार रुपियाँका दरले राहत प्रदान गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । बुधबार रामपुर ४ र ५ का ६ घर र पूर्वखोला ६ का ९ घर परिवारलाई राहत रकम प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायाधीश दल बहादुर के.सी., रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डित, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् जनप्रतिनिधिहरूको उपस्थितिमा राहत रकम प्रदान गर्नु भएको हो ।

प्रमुख जिल्ला अधिकारी काफ्लेले नागरिकको पिडामा सरकार पनि साथ मै छ है भन्ने अनुभूति दिलाउनुका साथै अत्यावश्यक सामग्री व्यवस्थापनमा सहजताका लागि तत्काल केही रकम प्रदान गरिएको बताउनुभयो । उहाँले पूर्णरुपमा क्षति भएका नागरिकको आवास निर्माणका लागि सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माणका लागि यथाशीघ्र सम्बन्धित पालिकामा निवेदन दिन आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जिल्लाको अन्य पालिकामा विवरण सङ्कलन भइरहेको बताउनुभयो । रामपुर नगरका पीडित परिवारलाई क्लथ एण्ड फुड बैङ्क नेपाल रुपन्देहीले आगलागीबाट पूर्णरुपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडा सहित ओढ्ने ओछ्याउने सामग्री प्रदान गरेको छ ।

क्लथ एण्ड फुड बैङ्क नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेम प्रकाश श्रेष्ठ, थमन मल्लले सामग्री प्रदान गर्नुभएको हो । संस्थाले पीडित परिवारलाई परिवार सङ्ख्याको आधारमा लगाउने लुगासहित सिरक, डसना र सिरानी प्रदान गरेको हो ।