• ७ जेठ २०८१, सोमबार

चोरले एक तोला सुन निलेपछि.......

blog

सुन चोर्ने सुरेन योङया र निलेपछि एक्सरेमा देखिएको सुन । तस्बिर: गोरखापत्र

राधा लुइँटेल

फिदिम, वैशाख २७ गते । फिदिम नगरपालिका २ की विष्णुमाया तामाङको घरमा गत बुधवार राती चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गर्नुभयो ।

तत्काल आएका छिमेकीले चोरलाई बाहिर निस्कन नदिई बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीलाई खबर गरे । २० मिनेट नपुग्दै प्रहरी घट्ना स्थल पुग्यो । प्रहरीले चोर समात्यो । चोर फिदिम १ का २८ वर्षीय सुरेन योङया रहेछन् ।  दराज हेर्दा त्यहाँभित्र राखेको नगद १५ हजार र एक तोला सुनको टिल राखेको ठाउँमा थिएन । शरीर खानतलासी गर्दा पैसा भेटियो तर सुन भेटिएन । 

सायद सुन अन्तै कता राख्नुभएको थियो कि ? घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक दिवस कुँवरले तामाङलाई सोध्नुभयो । ‘अन्त कतै राखेको छैन,मेरो राख्ने ठाउँ यही हो सुन यसैले चोरेको छ ।’ तामाङले जवाफ फर्काउनुभयो । अब प्रहरीले नाक,कान,मुख र मलद्वारसहित सम्भावित सबै अङ्ग प्रत्यङ्गमा खानतलासी गर्‍याे ,तर सुन कहीँ भेटिएन । ‘सायद निल्यो कि ? भन्ने सङ्का लागेपछि अस्पताल लगेर एक्स–रे गर्दा त पेटभित्र पो देखियो ।’ –प्रहरी निरीक्षक दिवस कुँवरले भन्नुभयो ।

‘सुन आमाशयमा टाँसिएर बसेको सुन देखेपछि हिरासतमा राखेर निगरानी गर्‍याे,चोरले दुई दिन त दिसा नै गरेन अन्ततः ३६ घण्टापछि दिसासँगै सुन पनि निकाल्यो,धोइपखाली गरेर सुन पसलमा जोख्दा ठ्याक्कै एक तोला रहेछ ।’ –कुँवरले थप्नुभयो ।

कुँवरका अनुसार सुन निले पनि योङ्याको स्वास्थ्यमा केही समस्या देखिएन । सुन र नगद चोर्ने योङ्याविरुद्ध अनुसन्धान गर्दै प्रहरीले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । मङ्गलवार साँझ एक लाख पचास हजार रुपियाँ धरौटी माग्दा बुझाउन नसकेपछि वैशाख २६ गते योङ्यालाई पुर्पक्षका लागि पाँचथर कारागार पठाइएको छ । गरिबीका कारण चोरी गर्न बाध्य भएको योङयाले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ ।