• ७ जेठ २०८१, सोमबार

नारायणी र राप्तीमा माछा मार्ने लाइसेन्स बन्द

blog

बोमलाल गिरी 

नवलपुर, वैशाख २७ गते । चितवन राष्ट्रिय निकुञ्ज कसराले नवलपुरमा बसेर नारायणी र राप्ती नदीमा माछा मारेर जीविकोपार्जन गर्ने माझी, मुसहर र बोटे समुदायलाई थप इजाजतपत्र (लाइसेन्स) नदिने भएको छ । निकुञ्जले त्यसको सट्टामा वैकल्पिक व्यवसाय अवलम्बन गर्न ती समुदायलाई आग्रह गरेको छ ।

आफूहरूलाई माछा मार्नका लागि नयाँ लाइसेन्स थप गर्नुपर्ने र पुरानालाई नवीकरण गर्नुपर्नेलगायत १० बुँदे माग राखेर ज्ञापनपत्र बुझाउन कसरा पुगेको माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरको टोलीसँग निकुञ्जले यस्तो आग्रह गरेको हो । ज्ञापनपत्र बुझेपछि निकुञ्जका सहायक संरक्षण अधिकृत अविनाश थापाले भावी पुस्तालाई वैकल्पिक व्यवसायमा संलग्न गराए मात्र नदीमा आश्रित हुन नपर्ने भएकाले त्यतातिर सोच्न आग्रह गर्नुभयो । 

सहायक संरक्षण अधिकृत थापाले भन्नुभयो, “नदीमा बढिरहेको चाप, जङ्गली जनावरसँगको द्वन्द्वलगायतका कारणले पनि तपाईंहरूले वैकल्पिक व्यवसाय रोज्नु उपयुक्त हुन्छ । त्यसका लागि निकुञ्जले के गर्नु पर्छ हामी तयार छौँ ।” निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पनि परम्परादेखि माछा मारिरहेकाको लाइसेन्स नवीकरण गरिरहेको भए पनि नयाँ थप्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले अहिले यी समुदायका झन्डै तीन सय जनाले लाइसेन्स पाइरहेकाले नयाँ थप्नु निकै चुनौतीपूर्ण र संवेदनशील विषय भएको बताउनुभयो ।

“पृथ्वीमा डाइनोसरपछि अति सङ्कटापन्न अवस्थामा अस्तित्वमा रहेको घडियाल गोही चितवनको राप्ती र नारायणी नदीमा मात्र पाइन्छ । प्रकृतिमा यसको बाँच्ने दर एक प्रतिशतभन्दा पनि कम छ । जसले ताजा माछाबाहेक अरू खाँदैन,” उहाँले भन्नुभयो, “हामीले घडियाल गोहीको पनि संरक्षण गर्नुपर्ने छ । अनि संरक्षणमा असर नपर्ने गरी हाम्रो जीविकोपार्जनलाई पनि व्यवस्थित गर्नुपर्ने काम छ । जुन निकै चुनौतीपूर्ण छ ।” यस्तो अवस्थामा लाइसेन्स थप गर्दा १० हजारभन्दा बढी हुने भएकाले प्रकृतिको संरक्षणमै अवरोध उत्पन्न हुन सक्ने उहाँको भनाइ छ ।