• ६ जेठ २०८१, आइतबार

महिना दिनमै तीन हजार हेक्टर वन सखाप

blog

डढेलो बस्तीमा पसेपछि ध्वस्त भएका घरहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख २५ गते ।
 पाल्पामा एक महिनामा तीन हजार हेक्टर बढी क्षेत्रमा डढेलो लागेको छ । गत वर्ष एक महिनाको अवधिमा एक हजार हेक्टर वन क्षेत्रमा मात्र डढेलो लागेकोमा यो वर्ष एक महिनामै तेब्बर क्षेत्रमा डढेलो लागेको छ । गत चैत २४ गतेदेखि हालसम्म तीन हजार २६१ हेक्टर क्षेत्रफलमा वनमा डढेलो लागेको छ । यो वर्ष हालसम्म तीन हजार ५८५ हेक्टर वन क्षेत्रमा डढेलो लागिसकेको छ ।

पछिल्लो एक महिनाको अवधिमा दैनिक ११० हेक्टर क्षेत्रफलमा डढेलो लागिरहेको छ । जिल्लाका कम्तीमा पाँच देखि १२ स्थानमा दैनिक डढेलो लागेको र त्यसले करोडौँको क्षति गरेको स्थानीय बासिन्दा बताउँछन् । वन क्षेत्रमा लागेको डढेलोले दैनिक मानिस प्रभावित बनेका छन् ।

एक महिनाको अवधिमा सबैभन्दा बढी तिनाउमा ९८९ हेक्टर वन क्षेत्र सखाप भएको छ । यस्तै, रामपुरमा ७९७ हेक्टर क्षेत्रमा डढेलो लागेको छ । यस्तै, तानसेनमा ४९५ हेक्टर, माथागढीमा ६२९ हेक्टर वन क्षेत्र सखाप बनेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो । यस्तै, रम्भामा १२९, रैनादेवी छहरामा २७४, रिव्दीकोटमा ८१ र  बगनासकाली गाउँपालिकाको ७१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको कार्यालयले जनाएको छ । 

वन क्षेत्र जोगाउन नसकेपनि घरगोठ, विद्यालय, सार्वजनिक स्थलका पूर्वाधार जोगाउन समस्या भएको बगनासकाली–८, चापपानीका स्थानीय बासिन्दा भोजराज तिमिल्सिनाले बताउनुभयो । केही मानिसको लापरबाहीले वन क्षेत्रमा फैलिएको आगो निभाउन दिनरात खट्नुपरेको उहाँले बताउनुभयो । वनमा लागेको आगो निभाउने कुनै योजना, उपकरण छैन, बस्ती जोगाउन भने केही हदसम्म सफल भएको तिमिल्सिनाले बताउनुभयो ।

गत वर्ष यही अवधिमा ५० स्थानमा मात्र डढेलो लागेको थियो । यो वर्ष बढेर १२७ स्थानमा डढेलो लागिसकेको छ । वनमा लागेको डढेलो बस्तीमा पसेर हालसम्म ५० बढी घरमा क्षति पुगेको छ । यस्तै, सय बढी पशुचौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन हजार पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा वनमा रहेका वन्यजन्तुका वासस्थान, तिनका बच्चा, आहार नष्ट भएको छ । यस्तै, वनमा वर्षौँदेखि हुर्किएका जडीबुटी पनि खरानी बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।