• ६ जेठ २०८१, आइतबार

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ

blog

धनुषाको मिथिला नगरपालिकास्थित सामुदायिक विद्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, वैशाख २५ गते ।
धनुषाको मिथिला नगरपालिका–९, बेंगाडाबरमा रहेको सार्वजनिक नमुना माध्यमिक विद्यालयले विद्यार्थी टिकाउन अङ्ग्रेजी माध्यमबाट पढाउन थालेको छ । अङ्ग्रेजी माध्यमबाट पढ्नका लागि विद्यार्थी निजी विद्यालयतिर जान थालेपछि  त्यसलाई रोक्न अङ्ग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न थालिएको हो ।

प्रधानाध्यापक विश्वनाथ महतोले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको बताउनुभयो । विद्यार्थी र अभिभावकको चाहनाअनुसार आधुनिक युग सुहाउँदो शिक्षा शिक्षा प्रदान गर्न तथा विद्यार्थी आकर्षित गर्न यो नीति अपनाउनु परेको उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक महतोले भन्नुभयो, “अङ्ज्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि संस्थागत विद्यालयमा भर्ना भएका बालबालिका पनि फर्किएका छन् । उहाँका अनुसार अङ्ग्रेजी माध्यम पढ्ने विद्यार्थीले पुस्तक भने  स्वयम्ले खरिद गर्नुपर्छ ।”

अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदा राम्रो भन्ने बुझाइले गर्दा यहाँका अधिकांश विद्यालय दबाबमा रहेको उहाँको भनाइ छ । २०२१ सालमा स्थापना भएको यस विद्यालयमा साबिकका बेंगाडाबर, ढल्केबर, बटेश्वर गाविस र छिमेकी जिल्ला महोत्तरीबाट समेत विद्यार्थी पढ्न आउने गरेका थिए । तर पछिल्ला केही वर्षयता वरिपरिका क्षेत्रमा सामुदायिक तथा निजी विद्यालयको सङ्ख्या बढेपछि विद्यार्थीको सङ्ख्यामा कमी आउन थालेको थियो ।

प्रधानाध्यापक महतोले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि एउटा कक्षा कोठामा विद्यार्थी नअटेपछि कतिपय कक्षामा दुईभन्दा बढी सेक्सन सञ्चालन गरिएको बताउनुभयो । विद्यालयमा अहिले नौ सयभन्दा बढी विद्यार्थी रहेको बताउँदै उहाँले भर्ना हुने क्रम जारी रहेकाले विद्यार्थी सङ्ख्या अरु बढ्ने जानकारी दिनुभयो ।

अङ्ग्रेजी माध्यमबाट पढ्न पाउँदा विद्यार्थी पनि खुशी देखिएका छन् । कक्षा आठमा अध्यनरत मन्जित मण्डलले बोर्डिङ स्कूलको जस्तो पढाई हुने गरेकाले खुसी लागेको बताउनुभयो । यस्तै, मिथिला नगरपालिका क्षेत्रभित्र रहेका चुरे चाँदनी, आदर्श, जनता माध्यमिक लगायतका विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरेका छन् ।

मिथिला नगरपालिकाकी शिक्षा शाखा प्रमुख सीता काफ्लेले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउनु सुरु गरिएको बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन तथा युग सुहाउँदो शिक्षा प्रदान गर्न यो शैक्षिक वर्षमा शिशु कक्षादेखि दुई कक्षासम्म अङ्ग्रेजी  माध्यममा अध्यापन गर्ने व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो ।

शिक्षा समितिको निर्णयबाट अङ्ग्रेजी  माध्यमबाट अध्यापन सुरु गरिएको बताउँदै शिक्षा शाखा प्रमुख काफ्लेले आउँदो वर्षदेखि क्रमश माथिल्लो कक्षा बढाउँदै लैजाने बताउनुभयो । मिथिला नगरपालिकामा सात वटा मावि, नौ वटा निमावि र १२ आधारभूत विद्यालय गरी २८ वटा छन् ।

अभिभावक मुकेश ठाकुरले सबै बालबालिकालाई सामुदायिक विद्यालयको पहुँचमा पुर्‍याउन अङ्ग्रेजी माध्यमबाट पढाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिक विद्यालयमै पढ्ने उहाँले जानकारी दिनुभयो ।

“निजी विद्यालयमा महँगाे शुल्क तिर्नुपर्छ, सामुदायिकमा कुनै शुल्क तिर्नुपर्दैन, त्यसले गर्दा अभिभावकलाई आर्थिक भार नपर्ने भएकाले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ”, अभिभावक ठाकुरले भन्नुभयो । उहाँले कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा पढाउनुपर्ने बताउँदै त्यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्ने बताउनुभयो ।