• १६ जेठ २०८१, बुधबार

ट्राफिक सप्ताह सुरु

blog

ट्राफिक सप्ताहका अवसरमा बेनीमा निकालिएको प्रभातफेरी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख २५ गते । म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ सुरु गरिएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन मङ्गलबारदेखि एक हप्तासम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । 

सप्ताहको पहिलो दिन मङ्गलबार बिहान विभिन्न झाँकी, नौमति बाजा हित बेनीमा प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा जिल्ला स्थित जनप्रतिनिधि, सरोकारवाला कार्यालय, सङ्घ संस्था, विद्यार्थी, सर्वसाधारण, सवारी चालक लगायतको सहभागीता रहेको थियो । बेनीको वीरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न गल्ली र चोकहरु हुँदै जिल्ला समन्वय समितिमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । 

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकै साथ ट्राफिक सप्ताह सुरु गरिएको छ । 

सप्ताहलाई यात्रु, चालक, र प्रहरीबिचको सम्बन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिएको कार्यालय प्रमुख केसीको भनाइ छ । 

ट्राफिक सप्ताह अन्तरगत लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालालाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्बन्धी चालक, यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरि उक्त अवसरमा प्रहरी सँगसँगै विभिन्न सङ्घ संस्था र विद्यालयबाट स्वयम् सेवक परिचालन गरेर ट्राफिक सचेतना अभिवृद्धि गर्ने, शहरी क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, लघु सचेतना कार्यक्रम गरेर यात्रु, चालक र सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने, चालकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रियासँगै रक्तदान र दिप प्रज्वलनलगायतका कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।