• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिद्वारा शुभकामना

blog

काठमाडौँ, जेठ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

सन्देशमा उहाँले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास लिनुभएको छ । २०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरणमा हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिन्छ । “हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ यस वर्ष यो दिवस मनाइँदै छ ।