• ६ जेठ २०८१, आइतबार

पोखरा महानगरले प्रशिक्षार्थी विद्यार्थी परिचालन गर्ने

blog

समझदारी पत्रमा हस्ताक्षर र हस्तान्तरणमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित विश्वविद्यालयका प्रतिनिधिहरु ।

रमेश पौडेल

पोखरा, वैशाख २४ गते । पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ ।

व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्न महानगरपालिकाले विश्वविद्यालय तथा क्याम्पसहरूसँग समझदारी गरेको हो । महानगरले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका कार्यक्रम निर्देशक श्रीजन ज्ञवाली, पृथ्वी नारायण क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा सरोज कोइराला, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरेन्जी गौतम, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश खड्का र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समझदारीपत्र अनुसार तोकिएका प्रशिक्षार्थी विश्वविद्यालय वा क्याम्पसहरूले उपलब्ध गराउनु पर्नेछ । यसो गर्दा प्रशिक्षार्थीहरूको पठनपाठनमा कुनै अवरोध सृजना हुन नहुने व्यवस्था गरिनु पर्ने र प्रशिक्षार्थीले प्रचलित कानुन विपरीत कार्य गरेमा विश्वविद्यालयले उपयुक्त सजाय गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ ।  

समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने र नखटाउने वा तोकिएको सङ्ख्यामा खटाउने अधिकार महानगरपालिकामा रहने छ ।  महानगरपालिकाले आफ्नो आवश्यकता अनुसारका प्रशिक्षार्थी माग गरी पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र कालिका क्याम्पसमा पत्राचार गर्नुपर्ने छ । माग भएका विद्यार्थीहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरी फिल्ड कायमा पठाइने र प्रशिक्षार्थीहरूलाई महानगरपालिकाले आफ्नो कार्यविधिको अधीनमा रही दैनिक खाजा खर्चबापतको रकम उपलब्ध गराउनेछ । प्रशिक्षार्थीले गरेको कार्य विवरण प्रत्येक हप्ता सम्बन्धित वडाले  प्रमाणित गरी अभिलेख राखिने बताइएको छ । खटिएका प्रशिक्षार्थीले पोखरा महानगरपालिकाले तोकेको स्थानमा गई वडा कार्यालयको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको कार्य गर्नु पर्नेछ । सम्झौता सुरुवात भएको मितिले १८० दिनसम्म कायम हुने बताइएको छ ।   

सोही सन्दर्भमा नगर प्रमुख आचार्यले समझदारीअनुसार पोखरा महानगरपालिका र विश्वविद्यालय तथा क्याम्पसहरूका बिचमा समन्वयको वातावरण तयार गर्नुका साथै सामुदायिक क्याम्पसहरू प्रति विद्यार्थीको आकर्षणसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकहरूमा कर शिक्षाको सचेतनासहित विद्यार्थीको सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगमा टेवा पुग्ने उहाँले बताउनुभयो । महानगरको राजश्व सङ्कलनमा समेत बढोत्तरी आउने उहाँको विश्वास छ ।

समझदारीको हस्ताक्षर कर्ताहरूले महानगरपालिकासँग समन्वय गरी विद्यार्थीहरूलाई व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा परिचालन गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ । विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न यसले महत्त्वपूर्ण योगदान पुग्ने उहाँहरूको विश्वास छ ।

समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थीहरू परिचालन हुनेछन् ।