• ८ असार २०८१, शनिबार

परिश्रम नै सफलताको सूत्र

blog

मेहनत गरे यही देशमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सफल दृष्टान्त हुनुहुन्छ पोखरा–२५ हेम्जा निवासी घनश्याम तिमिल्सिना । नौ वर्र्षसम्म अरबको खाडीमा पसिना बगाउँदै गर्दा यो पसिना आफ्नै देशको माटोमा सिँचन गर्नु पर्छ भन्ने सोच बोकेर उहाँ स्वदेश फर्कनुभयो । २० वटा गाईबाट पशुपालन सुरु गर्नुभएका ४० वर्षीय तिमिल्सिनासँग अहिले गाईभैँसी र बाख्रा गरी ३७० पशुचौपाया रहेका छन् ।

उहाँको  फार्मबाट दैनिक एक हजार दुई सय लिटर दुध उत्पादन हुने गरेको छ भने दुधको मात्रै दैनिक एक लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको छ । युवाका लागि प्रेरणाको स्रोत बन्नुभएका तिमिल्सिनाको कृषि  फार्म हेर्न दैनिक दर्जनौँ किसानलगायत अन्य सङ्घ संस्थाका व्यक्तिहरूको घुँइचो लाग्ने गर्छ । पछिल्लो समय कृषि र पशुसम्बद्ध सरकारी निकायका अधिकारीहरूले तिमिल्सिनाको गाई  फार्मलाई उदाहरण दिने गरेका छन् । उहाँको काम गण्डकी प्रदेशमा मात्र नभई देशैभर उदाहरणीय बनेको छ । हेम्जा गाई  फार्ममा उत्पादन हुने दुध, दही र तरकारीहरू लिनका लागि पोखरा–५ पर्साङको पसलमा लाइन लाग्ने गर्छ । तिमिल्सिना भन्नुहुन्छ, “उपभोक्ताका लागि गुणस्तरीय उत्पादन दिएपछि यसको बजार प्रवर्धनमा उपभोक्ता नै लाग्ने गर्छन् । वास्तवमा गुणस्तरीय उत्पादन भनेको स्वयम्मा विज्ञापन पनि रहेछ ।” 

बाँच्नकै लागि विदेश जानुपर्ने बाध्यता नभए पनि नौ वर्र्ष कतारमा गई काम गरेको अनुभव उहाँले सुनाउनुभयो । वैदेशिक रोजगारले आफ्नै मुलुकमा फर्किएर केही गर्ने प्रेरणा मिलेकाले उहाँ नेपाल फर्कनुभएको हो । हामी नेपाली सुनको थालीमा बसेर फलाम खोज्दै छौँ भन्ने उहाँको अनुभव छ । विदेश जानभन्दा त ४५ वटा राम्रा गाई पाल्ने हो भने दुबई र कतारको कमाइ यही नै हुने भन्दै उहाँ युवालाई स्वदेशमै पसिना बगाउनुपर्ने सन्देश दिन चाहनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा पैसाको बोट हुँदैन, मेहनत र पसिना आफ्नै हो, त्यो पसिना आफ्नै देशमा बगाएमा सुन फलाउन सकिन्छ ।”

तिमिल्सिनाले पशुपालनमा मात्र होइन, तरकारी तथा फलफूलमा समेत लगानी गर्नुभएको छ । सिजनमा २० लाखको गोलभेँडा र २० लाख बढीको काँक्रो उत्पादन गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । तिमिल्सिना भन्नुहुन्छ, “मैले सरकारी र व्यक्तिगत गरी दुई सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएको छु । ३० लाख रुपियाँ त भाडा मात्रै तिर्ने गरेको छु । गाईवस्तुलाई आफ्नै खेतबारीको घाँस, पराल दिन सके मात्र किसानलाई फाइदा हुन्छ । अर्को कुरा खेतबारीमा गाईवस्तुको मल प्रयोग गरी उत्पादन गरेको तरकारी र खाद्यान्न अर्गानिक हुन्छ र त्यसको छुट्टै मूल्य प्राप्त हुन्छ ।”

उहाँ किसान मात्र नभई रोजगारदाता पनि बन्नुभएको छ । उहाँको  फार्ममा २० जनाले नियमित काम गर्छन् भने थप १० देखि २० जनाले सिजन अनुसार ज्यालादारीमा काम पाएका छन् । उहाँका अनुसार धेरै खट्नुपर्ने कृषि पेसामा घाम, पानी, झरी, बादल केही भन्न पाइँदैन र सधैँ एकनासले खटिरहनु पर्छ । यसलाई आफ्नो भाग्य सम्झेर कर्म गर्दै गएपछि सफलता मिल्ने उहाँको धारणा छ । अहिले उहाँको फार्ममा सात करोडभन्दा बढीको लगानी छ भने सबै खर्च कटाएर वार्षिक ५० लाख रुपियाँभन्दा बढीको कमाइ हुने गरेको छ तर किसानलाई कमाइ हुनका लागि पशुलाई रोग लाग्नु भएन र खेतबारीमा खडेरी र असिना पर्नु भएन । हुन त पछिल्लो समय बाँदरले हैरान गरेर उहाँलाई पनि अत्याएको छ । दिनभर बारीमै हुने हुँदा अलिअलि हानिनोक्सानी गरे पनि सहने गरेको उहाँले बताउनुभयो ।

तिमिल्सिनाको  फार्म अनुकरणीय र नमुनायोग्य भएर राष्ट्रपति पुरस्कारले समेत सम्मानित हुनुभएको छ । उहाँले सरकारबाट १५ लाख रुपियाँभन्दा बढी अनुदान पाएको सुनाउनुभयो । सरकारले करौडौँ अनुदान बाँड्ने नभई नीतिगत रूपमा किसानलाई दिन उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार गाईवस्तुका लागि दानामा अनुदान दिनुपर्ने, सरकारी जग्गामा राजस्व लिएर घाँस उत्पादनको व्यवस्थापन हुनुपर्ने र किसानले उत्पादन गरेका वस्तु तथा सेवाहरू मूल्याङ्कन गरेर ढुवानी, विद्युत् र चिस्यान केन्द्रका लागि अनुदान दिनु आवश्यक छ । किसानले तराईको पराल ल्याउँदासमेत प्रहरीले गरेको हैरानी उहाँका लागि निकै तितो भएको छ । उहाँले भन्नुभयो, “भारतबाट २८/३० टनका गाडी सहज रूपमा आउँछन् तर किसानका लागि भने ८/१० टनको पराल ल्याउन सकिँदैन ।” 

उहाँका अनुसार कृषिमा आत्मनिर्भर बनाउने र युवालाई स्वदेशमा नै रोक्ने हो भने सरकारले कृषि र पशु क्षेत्रमा व्यापक नीतिगत हेरफेर गर्न जरुरी छ । कृषि र भेटेनरी क्षेत्रका ठुला  फार्महरूमा सरकारको प्रत्यक्ष निगरानी र प्राविधिक सहयोग जरुरी रहन्छ । दाना, औषधी र भिटामिनमा बजार अनियन्त्रित छ । समयमा पशुहरूका लागि खोप पाइँदैन । गत वर्र्ष लम्की भाइरसले ठुलो क्षति भएको थियो । अहिले बङ्गुरमा अफ्रिकन स्वाइन फ्लु देखिएको छ ।

भारतबाट अर्गानिक मलको नाममा प्याकेट मल आएको छ । सहरमा कौशी खेती र करेसा बारीका साथै फूल गमला राख्ने प्रचलन बढ्दै आएको छ । सरकारले साथ दिएमा यस्ता प्याकेजिङ मल उत्पादन गर्ने चाहना उहाँको छ । सरकारको दीर्घकालीन नीति र सोच हुनु प¥यो, हामीसँग भएको जोस र जाँगरमा थप उत्साह आउँछ, तिमिल्सिनाको भनाइ छ । उहाँका अनुसार बेमौसमी तरकारीका लागि आधुनिक टनेल आवश्यक पर्छ । वातावरणमा आएको परिवर्तनले तरकारी उत्पादनमा समेत असर पारेको छ । ठुला र व्यवस्थित टनेल वितरण गरेमा बेमौसमी तरकारी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले तिमिल्सिना जस्ता कर्मशील युवाले व्यवसाय गरेमा विदेश जान नपर्ने धारणा राख्नुभयो । सरकारले यस्ता उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने तर्क उहाँको छ ।

मार्केटिङ गर्नै नपर्ने ब्रान्ड

यसै गरी ‘सुन्दर सपना देख र त्यसको पछि लाग’ भन्न रुचाउने उद्यमशील तन्नेरी हुनुहुन्छ सोभित बस्याल । खाडीको ५० डिग्री सेन्टिगे्रड तापक्रममा रगत र पसिनालाई रेमिट्यान्समा अनुवाद गर्नुभन्दा आफ्नै माटो र आफैँले हिँडेको बाटोमा श्रम रोप्नु पर्छ भन्ने बस्याल तीन दर्जन युवालाई स्वदेशमै रोजगारी दिन सफल हुनुहुन्छ । उद्यमशीलताको उदाहरण बन्नुभएका बस्याल विज्ञापन जगत्मा मार्केटिङ गर्नै नपर्ने ब्रान्ड हुनुहुन्छ । वास्तवमा सोभितको परिचय परिचय ‘एड्भर्टाइजिङ’ हो । रातो पृष्ठभूमिको सेतो अक्षरमा ‘विज्ञापन लगानी हो खर्च होइन’ स्लोगन परिचय एड्भर्टाइजिङको ब्रान्ड हो । परिचयका पर्याय सोभित बस्यालको बहुआयामिक पाटा छन् । उहाँ कुनै समय लोकप्रिय गीतकार र गायक हुनुहुन्छ । साठीको दशकमै दुई वटा एल्बम साङ्गीतिक बजारलाई दिनुभएका बस्यालले दुई वटा सिनेमा बनाएर अभिनयसमेत गर्न भ्याउनुभएको छ । बस्याल ३८ औँ वसन्तमा घुम्दै भए पनि कर्म र अनुभवले निकै पाको हुनुहुन्छ । उहाँको सिर्जनात्मक क्षमताले मानिस सृजनशील प्राणी हो भन्ने कथन पुष्टि हुन्छ । पोखराको मुटुमै तीन रोपनी क्षेत्रफलमा कम्पनी र वर्कसप राखेर तीन दर्जन कामदारलाई युरोपियन शैलीमा आवर बेसिसमा काम दिन सफल हुनुभएको छ । पोखरामा जुनसुकै इभेन्ट किन नहोस् त्यहाँ बस्यालको पाइला परेकै हुन्छ । उहाँले आयोजकलाई पैसा मात्रैभन्दा पनि कार्यक्रम सफल बनाउन परामर्श दिने गर्नुहुन्छ ।

उद्यम र व्यवसायबाट देशको समृद्धि सम्भव हुने बताउँदै बस्यालले भन्नुभयो, “विज्ञापन त नदी हो, रोक्नु हुँदैन । रोकिहाले पनि कतै न कतैबाट पानी त बगिछाड्छ । उद्यमी व्यवसायीका उत्पादन र सेवाहरूलाई आमउपभोक्ता माझ सरल र सहज तरिकाले पु¥याउने माध्यमलाई सम्मान गर्न जान्नु पर्छ ।” सामाजिक सञ्जालका माध्यमबाट नेपाली मुद्रा बिदेसिएको भन्दै उहाँले नेपाली धनपैसो नेपाली बजारमै खर्च गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । जसरी क्यासेटका चक्कालाई सिडीले, सिडीलाई युट्युबले विस्थापन गरेको छ, त्यसरी नै विज्ञापनको माध्यम होर्डिङ बोर्ड विस्थापन गरेर होइन, व्यवस्थित र परिष्कार गरेर एलइडी बोर्डसम्म रूपान्तरण गर्नु पर्छ । मल्टीनेसनल कम्पनीका प्रचारप्रसार सामग्रीले मात्रै होइन नेपाली उत्पादनका वस्तु वा सेवाले पनि स्थान पाउँदा स्वदेशी उद्योगी व्यवसायलाई फाइदा पुग्ने उहाँको तर्क छ । उहाँ होर्डिङ बोर्डलाई स्मार्ट सिटीको अनुहार सुहाउँदो बनाउनमा तल्लीन हुनुहुन्छ । हरेक युवाले प्रविधिलाई पछ्याएर अघि बढ्ने हो भने पछाडि फर्केर हेर्न नपर्ने उहाँको मान्यता छ । त्यसैले उहाँले पोखराको पृथ्वी चोकमा दुई करोडको लगानीमा एलइडी स्व्रिmन राखेर वस्तु तथा सेवाको प्रचारप्रसारमा सहयोग पु¥याउनुभएको छ । उक्त स्थानमा स्थापना गरेको लिड होर्डिङ बोर्डले पोखराको सौन्दर्यता थपेको अनुभूति पोखरेलीले गर्न पाएका छन् । यस्ता बोर्डहरू चोक चोकमा राखेर पोखरालाई टिटिएल बोर्डको सहरका रूपमा चिनाउने लक्ष्य रहेको बस्याल बताउनुहुन्छ । राज्यलाई कर तिरेर असल नागरिकको परिचय दिनु पर्छ भन्दै बस्यालले आर्थिक अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वित्तीय अनुशासनबिना न त काम गर्न सकिन्छ न त काम गराउन नै ।” स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका दुई हजारभन्दा बढी कार्यक्रमका स्टेज र सेट डिजाइनको अनुभव उहाँसँग छ । दैनिक १० घण्टाभन्दा बढी लगातार काम गर्ने हो भने आफ्नै देशमा विदेशी स्तरको जीवनशैली बिताउन सकिने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “घरदेशमा समय छ पैसा छैन, परदेशमा पैसा छ समय छैन ।” इमानदारिता, कामप्रतिको अथक लगनशीलता र गहन परिश्रम नै बस्यालको सफलताको सूत्र हो । पोखरालाई असाध्यै माया गर्ने र मन पराउने उहाँ पोखरालाई संसारभर चिनाउन अझै बाँकी रहेको बताउनुहुन्छ । पर्यटनसँग जोडिएको पोखराको प्राकृतिक सम्पदा र सांस्कृतिक विविधतालाई विश्व जगत्मा चिनाउन विज्ञापनको खाँचो रहेको महसुस गर्दै अन्तर्राष्ट्रिय ‘क्वालिटीको भिजुअल एड’ बनाएर प्रचारप्रसारमा व्यापकता दिने हो भने यहाँ ठुलो सङ्ख्यामा पर्यटकको भिड लाग्ने सुझाव उहाँ दिनुहुन्छ ।

बहुआयामिक व्यक्तित्व बस्यालको अर्को परिचय गीतकार र सङ्गीतकार पनि हो । स्नातक तह तेस्रो वर्षको पढाइ चलिरहँदा पोखरेली साङ्गीतिक माहोलले आफूलाई तानेकाले गितार बोकेर गीत सङ्गीतको दुनियाँमा होमिएको मिठो अनुभव उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “साङ्गीतिक माहोलमा रमाउनु भनेको दुःखलाई बिर्सेर सुखमा पौडनु हो ।” पोखरामा स्थापित र समकालीन गायकका भिडमा उहाँ आफँै गीतका शब्द कोर्दै, त्यसमा सुमधुर सङ्गीत भर्दै, स्वर दिँदै जीवनका आशावादी धुनहरू सुसेल्दै अघि बढ्नुभयो । उहाँको निधारमा कहिल्यै निराशाको रेखा कोरिएको भेटिँदैन । कामका बेला जति नै असिनपसिन भए पनि मुस्कानले मान्छेको मन जित्न नबिर्सने बस्यालको पहिलो गीत “जति टाढा भए पनि माया धेरै हुने, यस्तै रहेछ पिरती...” हो । यही गीतले उहाँलाई पोखरेली साङ्गीतिक परिवेशमा स्थापित गरिदियो । गायन उहाँको प्यास र प्यासन दुवै हो । उहाँले आफ्नो डायरीको एक्सन प्लान देखाउँदै भन्नुभयो, “यो वर्षदेखि फेरि निरन्तर साधना गरी पुरानै लय र लिपिमा फर्कन्छु ।” दुई दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका बस्यालले ‘मार्केट’ र ‘पाप’ जस्ता चलचित्रमा मुख्य भूमिकामा अभिनयसमेत गर्नुभएको छ । चलचित्रमा सङ्गीत दिने उहाँको लोभ अझै मनको माझबाट हटेको छैन । 

मेला महोत्सवको उद्भव थलो भनेर चिनिने पोखरामा उहाँले तेस्रो संस्करणसम्म सफल रूपमा जङ्गल फेस्टिभलको आयोजना गर्नुभयो । नितान्त भिन्न र पृथक् पहिचान बोकेको जङ्गल फेस्टिभलमा उहाँले लोपोन्मुख राउटे र कुसुन्डा जातिलाई प्रमुख अतिथि बनाएर कुसुन्डा राजामामालाई कार्यक्रमको उद्घाटन गर्न लगाउनुभयो । बालबालिकादेखि युवा र प्रौढले मन पराएको यो फेस्टिभललाई उहाँ हिँउदे सिजनमा नयाँ कलेबरमा सुरु गर्ने सोचमा हुनुहुन्छ । पोखराले जन्माएको प्रतिभाशाली तन्नेरी उद्यमी बस्याल भन्नुहुन्छ, “आफू हुर्के बढेको सुन्दर सहरलाई आमालाई जस्तै माया गर्दै अझ स्मार्ट बनाउने दायित्व हामी युवा व्यवसायीको पनि हो ।” पोखरालाई विज्ञापनको सहर बनाउने उहाँको उत्कट चाहना छ । विज्ञापन जगत्ले नै आफूलाई काम, माम, नाम र दामको चतुर्भुजमा राखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुन्दर दिनहरू यात्रामा छन् कसो भेट नहोलान् ।”

Author

रमेश पौडेल