• ७ मंसिर २०८१, शुक्रबार

पत्रकारिताको गौरव

blog

प्राचीनकालको सञ्चार मुखामुख सम्पर्क, सङ्केत र इसारा आदिको भरमा मात्रै सीमित थियो । भाषाको विकास हुँदै जाँदा सञ्चार सरल हुन थाल्यो । सुरुमा कुनै नौलो खबर वा जानकारी समाजसमक्ष पुर्‍याउनु पर्‍यो भने नगरा, ढोलक आदि बजाएर मानिसहरू भेला गराई खबर सुनाइन्थ्यो । त्यो पनि सीमित मात्रमा वा आवाज पुग्ने ठाउँसम्म । कथ्य भाषापछि लेख्य भाषाको विकास हुँदै गयो । मुद्रणको पनि सुरुवात भयो । अठाराैँ शताब्दीको अन्त्यतिर बेलायत, अमेरिका र भारतमा पनि आधुनिक पत्रिकाको सुरुवात भइसकेको थियो तर नेपालमा त्यस बेलासम्म अखबारको विकास भएको थिएन र समाचारको आदान प्रदान गर्ने कुनै माध्यमको व्यवस्था पनि थिएन । जनसाधारण स्तरमा गाइनेहरूले लोकलयमा समाचारको आदान प्रदान गर्दथे भने सरकारी स्तरबाट कुनै खबरको प्रसार गर्नु परेमा नगरा, ढोलक आदि बजाएर सार्वजनिक स्थानमा मानिसहरू भेला गराई जानकारी दिइन्थ्यो । 

नेपाली भाषामा पत्रकारिताको सुरुवात गर्ने श्रेय मोतीराम भट्टलाई नै छ । नेपाली भाषामा पहिलो पत्रिका १९४२ सालमा मोतीराम भट्टको सम्पादनमा गोरखा भारत जीवन मासिक पत्रिका बनारसबाट प्रकाशित भयो । त्यसपछि लगत्तै १९५५ सालमा मोतीराम भट्टकै सहयोगमा सुधासागर साप्ताहिक पत्रिका पण्डित नरदेव, मोतीकृष्ण तथा कपिलदेव आदि मोती मण्डलीको सक्रियतामा काठमाडौँबाट प्रकाशित भयो । १९५८ मा देवशमशेरको सत्प्रयासले साप्ताहिक गोरखापत्रको जन्म भयो । राणा प्रधानमन्त्री देवशमशेरको यो कदम नेपाली पत्रकारिताको क्षेत्रमा ऐतिहासिक छ । यो कदम नै नेपाली पत्रकारिताको क्षेत्रमा पहिलो खुड्किलो हुन पुग्यो । 

विसं १९५८ जेठ २४ गते नेपाली भाषाको पहिलो समाचार माध्यमको रूपमा ‘गोरखापत्र’ स्थापना भयो । स्थापना हुँदा हप्ताको एक पटक प्रकाशित भएको यो पत्रिका २०१७ सालमा आएर दैनिक रूपमा प्रकाशित हुँदै आएको छ । गोरखापत्रले समाजमा सञ्चार प्रणाली र पत्रकारिताको विकासमा अहम् भूमिका खेल्दै आएको छ । यसको स्थापनापश्चात् नेपालमा धेरै राजनीतिक परिवर्तन भए । सञ्चारको क्षेत्रमा पनि थुप्रै परिवर्तन भए । गोरखापत्रले भने निरन्तर रूपमा आफ्नो साखलाई समयानुकूल बनाउँदै लगेको छ । उदाहरणका लागि २०१९ सालमा तत्कालीन राजा महेन्द्रको शासनकालमा नेपाली जनताको सुविधा एवं आर्थिक हितका लागि गोरखापत्र दैनिकको सञ्चालन एवं प्रकाशनलाई नेपाल सरकारको नियन्त्रणबाट झिकी सर्वसाधारण जनतालाई सकभर बढी मात्रामा सरिक गराई त्यसको प्रकाशनको स्तर उठाएर समयानुकूल लोकप्रिय र प्रभावकारी बनाउने उद्देश्य राखी ‘गोरखापत्र संस्थान ऐन, २०१९” सम्बन्धी छुट्टै ऐनको निर्माण भयो । यसपछि यो ऐन समय अनुसार संशोधन हुँदै आएको छ । यसबाट यो कुरा प्रस्ट हुन्छ कि नेपालमा भएको राजनीतिक व्यवस्थाको परिवर्तनसँगै गोरखापत्रले आफ्नो कार्यशैली परिवर्तन गरी आमपत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान दिँदै आएको छ । हुन त राजनीतिक परिवर्तनसँगै नेपालमा सरकारी स्वामित्वमा रहेका कतिपय संस्था बन्द भए । कति निजीकरण गरियो तर गोरखापत्रले आफ्नो सेवालाई हर तबरले कायमै राखी नेपाली पत्रकारिताको क्षेत्रमा लागिरहेको छ ।

जनता सार्वभौम भएकाले जनतालाई पूर्ण रूपमा सुसूचित हुने अधिकार छ । समाजमा घटेको तत्कालीन घटनाका सम्बन्धमा सत्य, तथ्य र सन्तुलित खबर पाउने जनताको अधिकार हो । प्रत्येक प्रजातान्त्रिक सङ्गठनको आधार स्तम्भ वाक् र प्रेस स्वतन्त्रता नै हो । स्वतन्त्र राजनीतिक छलफलबिना सरकारले उचित किसिमले कार्य गर्न सक्दैन । कुनै पनि किसिमको समाज वा कुनै पनि स्वरूपको सरकारले जनसमक्ष जानकारी प्रदान गर्न सञ्चारको आवश्यकता पर्छ । त्यस्तो आवश्यकतालाई नेपालको सन्दर्भमा पत्रकारिताको माध्यबाट गोरखापत्रले स्थापना कालदेखि नै जुनसुकै शासन व्यवस्था रहेको अवस्थामा पनि प्रशंसनीय कार्य गर्दै आएको छ । राष्ट्रिय आकाङ्क्षालाई आमजनताका सामु राखी महत्वपूर्ण सञ्चारको माध्यमको रूपमा यसले भूमिका खेल्दै आएको छ । 

गोरखापत्रले जनतालाई सामाजिकीकरण गर्ने, उत्प्रेरणा दिने, शिक्षा तथा स्वास्थ्यसम्बन्धी जानकारी गराउने, मनोरञ्जन गराउने, राष्ट्रिय मर्यादाको अभिवृद्धि गर्ने जस्ता कार्यहरूसँग आफ्नो सम्बद्वता राख्दै आएको छ । गोरखापत्रले समाजका असमानता तथा खाडल पुर्ने काम गरेको छ । सबै भाषाभाषी, हिमाल, पहाड तराईको जनताको पहिचानलाई सम्बोधन गरेको छ । यिनै कारणले गर्दा गोरखापत्र एक मात्र बहुआयामिक पत्रिका हो । महाभूकम्पको विपत्ति, संविधान जारी गर्दाको अवस्था र नाकाबन्दी जस्ता राष्ट्रिय सङ्कटमा सबै नेपालीलाई एकताको सूत्रमा गाँस्ने काम पनि गोरखापत्रले गरेको छ । यसलाई बहुआयामिक पत्रिकाको रूपमा सबै नेपालीले स्वीकारेको छन् । 

विश्व विख्यात दार्शनिक जे एस मिलले मानव कल्याणको अभिवृद्धि र उन्नति सत्यतामा नै निहित रहन्छ, जुन कुराको प्राप्ति विचार र अभिव्यक्तिको स्वतन्त्रताबाट नै हुन सक्छ भन्ने कुरा उल्लेख गरेका छन् । वास्तवमा ‘अभिव्यक्तिको स्वतन्त्रता’ स्वतन्त्रताको जननी हो । प्रजातान्त्रिक सरकारको आधार स्तम्भ हो । राजनीतिक स्वतन्त्रताको जग हो । व्यक्तिको स्वतन्त्रता प्राप्तिमा सहायता प्रदान गर्न, निर्णय प्रक्रियामा व्यक्तिलाई मजबुत बनाउन, समाज र सामाजिक परिवर्तनबिच मुनासिव सन्तुलन कायम गर्न अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण अत्यावश्यकीय कुरा हो । स्वतन्त्रताको रक्षा र बचावट गर्ने कार्यका लागि गोरखापत्रले सफल भूमिका निर्वाह गर्दै आएको छ । आफ्नो चेतनाले भेटेसम्म स्वतन्त्र रूपमा छलफल गर्ने, बोल्ने र जान्ने स्वतन्त्रता देऊ भन्ने सत्रौँ शताब्दीमा व्यक्त गरिएको प्रसिद्व दार्शनिक जोन मिल्टनको विचारबाट नै बेलायतमा प्रेस स्वतन्त्रताको अवधारणा अगाडि बढ्दै आएको छ । यसै गरी पे्रस स्वतन्त्रता अर्थात् पत्रकारिताको महत्वलाई आत्मासात् गर्दै अमेरिकी संविधानको प्रथम संशोधन सन् १७९१ मा अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वञ्चित गर्ने गरी कांग्रेसले कानुन बनाउन नपाउने व्यवस्था गरेको छ । सन् १७७६ मा नै अमेरिकामा भर्जिनिया अधिकार पत्रले प्रेस स्वतन्त्रता मानव स्वतन्त्रताको एउटा बलियो स्तम्भ हो, जसलाई कुनै पनि निरङ्कुश सरकारले समेत कहिल्यै रोक लगाउन सक्दैन भन्ने कुराको संरक्षण गरेको थियो । यस्तै फ्रेन्च गणतन्त्रको संविधानले सबैलाई स्वतन्त्र रूपमा बोल्ने, लेख्ने, मुद्रण गर्ने अधिकारको प्रत्याभूत गरेको छ । भारतीय संविधानमा पनि प्रेस स्वतन्त्रताका सम्बन्धमा विशेष व्यवस्था गरे झैँ नेपालको संविधान २०७२ को प्रस्तावनाले “...पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र...” भन्ने कुरा उल्लेख गरी प्रेस स्वतन्त्रतालाई संवैधानिक ग्यारेन्टी गरेको र त्यस्तो ग्यारेन्टीलाई अबका दिनमा सर्वसाधारण समक्ष पु¥याउन गोरखापत्र नै मुख्य माध्यम रहनु पर्ने अवस्था आएको देखिन्छ ।

पत्रकारितालाई राज्यको चौथो अङ्गको रूपमा लिने गरिन्छ । यसरी चौथो अङ्गको रूपमा पत्रकारिताको विकास हुनुमा यसद्वारा राज्य सञ्चालनमा खेलिने भूमिका र यसले समाजमा निर्वाह गर्ने उत्तदायित्व नै हो । प्रजातान्त्रिक मुलुकहरूमा पत्रकारिताले महìवपूर्ण स्थान ओगटेको हुन्छ । स्वस्थ र स्वच्छ पत्रकारिता मुलुकका लागि अति नै हितकर हुने कुरा प्रजातान्त्रिक मुलुकहरूमा अनुभव गरिन्छ । हुन पनि गोरखापत्र नै एक यस्तो माध्यम बनेको छ, जसद्वारा नेपालको पत्रकारितालगायत देश निर्माणका लागि मार्गदर्शन प्राप्त गर्न सक्ने साधनको रूपमा विकास हुँदै आएको छ । सत्य, तथ्य र सन्तुलित समाचार र विचार कारण गोरखापत्रले नेपाली समाजलाई विकासको पथमा अग्रसर गराउन सहयोग गर्दै आएको छ । 

आमजनतालाई समाचार र विचार प्रदान गर्ने, जनमतलाई प्रष्ट्याउने, जनतामा विकासप्रतिको आशा वा भावना जगाउने, आमजनतालाई चेतना प्रदान गर्ने, शिक्षा प्रदान गर्ने, सरकारी निर्णयलाई जनतासमक्ष पु¥याउने, विभिन्न सरकारी निकायबिच समन्वय कायम गराउने, जनतामा नयाँ वस्तुहरूको परिचय गराई नयाँ प्रविधिको ज्ञान दिलाउने, त्रुटिहरू औँल्याएर सुधारको मार्ग देखाउने, विकासबारे जानकारी गराउने राष्ट्रिय र अन्तर्राष्ट्रिय खबर प्रदान गर्ने, विकासको प्रक्रियालाई स्थानीय, क्षेत्रीयलगायत अन्य निकायबिच आवश्यकता अनुरूप समन्वय गराउने, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक, शैक्षिक, लैङ्गिक, समानुपातिक स्थिति र अवस्थाको बारेमा जनतालाई अवगत गराउने, विकासको नाममा हुने कुनै पनि बदमासीको उजागर गर्ने जस्ता अत्यावश्यक कार्य गोरखापत्रको माध्यमबाट हुँदै आएको छ । यसैले नेपाली पत्रकारिताको क्षेत्रमा नेपालको जेठो पत्रिकाको रूपमा स्थापित गोरखापत्रले अतुलनीय कार्य गर्दै आएको छ ।

नेपालमा गोरखापत्र सञ्चारको साधनमध्येको एक प्रमुख माध्यमा नै हो । यसैले स्वस्थ, सच्चरित्रवान्, इमानदार र नैतिक मनोबल भएको निर्भीक समाजको सिर्जना गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ । यसर्थ, गोरखापत्रले समष्टि रूपमा सरकार र जनताबिचको पुलको रूपमा कार्य गरेको छ । समाजलाई उन्नतिको पथमा डोर्‍याउने कार्यमा ठुलो भूमिका खेलेको छ । गोरखापत्रले नै सामाजिक चेतना जागृत गराई नेपालमा ठुला ठुला उथलपुथलहरू भएका छन् । आफ्नो निरन्तरको यात्रामा नेपाली पत्रकारितालाई सधैँ उचाइमा लैजाने कार्य गरेको छ । साथै, सत्यताप्रति चेतनशील, राष्ट्रिय हित, बहुसङ्ख्यक जनसमुदायको भलाइ र आफ्नो व्यावसायिक उन्नतिका लागि गोरखापत्रले सदैव सजक रहँदै पत्रकारिताको उन्नतिको लागि कार्य गर्दै आएको छ । हुन त प्रकृतिको नियम अनुसार रुखको वृक्ष जति पुरानो हुँदै गयो त्यस्तो वृक्षमा बुढ्यौलीपन आउन थाल्छ र त्यसले पूर्ववत् रूपमा शीतल र अन्य प्रकृतिक देन निरन्तर रूपमा दिन सक्दैन तर यसको ठिक विपरीत गोरखापत्र बुढ्यौलीपनतर्फ जाँदै १२४ औँ वर्षमा प्रवेश गरे पनि यसको महìव र उपदेयता झन् उचाइमा पुग्दै गएको छ । बहुभाषिक, बहुधार्मिक तथा बहुजातीय मुलुक नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति तथा समुदायबिचको सुसम्बन्धलाई सुमधुर र सामञ्जस्यता बनाई राख्नका लागि गोरखापत्रले अहम् भूमिका भने निर्वाह गर्नु पर्छ । 

हिमाल जस्तै उच्च, समुद्रझैँ विशाल र तारा जस्तै चम्किलो बनेर गोरखापत्रले नेपाली पत्रकारिताको क्षेत्रमा बहुआयामिक योगदान गर्दै आएको छ । यो योगदानलाई यथावत् राखी नेपालको समृद्धिको यात्रालाई अगाडि बढाउन गोरखापत्र अझ निष्पक्ष, उत्तरदायी तथा व्यावसायिक हुनु पर्छ । 

Author

डा.अर्जनुकुमार खड्का