• ६ जेठ २०८१, आइतबार

राष्ट्रपति पौडेलसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुँदै नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योको । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, वैशाख २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ ।

आइतबार राष्ट्रपति कार्यालयमा उहाँहरूबिच शिष्टाचार भेट भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । 

राष्ट्रपति भवनमा भएको भेटमा नेपाल र जापानबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका सम्बन्धमा कुराकानी भएको प्रवक्ता भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्नुभएको छ । 

उहाँले आगामी दिनमा नेपाल र जापानबिच आर्थिक सहयोगलगायत अन्य सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वाससमेत व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेट गरिसक्नुभएको छ ।