• ५ जेठ २०८१, शनिबार

पत्रकार दियालीकाे उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल

blog

काठमाडौं, वैशाख २३ गते । दुवै मिर्गाैला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहनुभएकाे छ । नियमित डायलसिस गर्नुपर्ने भएपछि उहाँलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गर्नुभएकाे छ ।

शनिबार इटहरीका सक्रिय पत्रकार एवम प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गर्नुभएकाे हाे । त्यस्तै हेटौंडाका व्यवसायी गोपाल थापाले आर्थिक सहयोग सङ्कलनका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

उपचारका लागि सरकार, सामाजिक सङ्घ–संस्था र दाताहरूसँग याचना गरेपनि त्यो प्रभावकारी नभएको उहाँले बताउनुभयाे । पत्रकार दियालीले पत्रकार महासङ्घले सहयोग सङ्कलनका लागि अभियान सञ्चालन गरिदिन माग गर्नुभएकाे छ । अन्य सङ्घ-संस्थालाई पनि सहयोग अभियान सञ्चालन गरिदिन उहाँले आग्रह गर्नुभएकाे छ ।

इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफ्नो दुवै मिर्गाैला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताउनुभयाे । दियालीका अनुसार मिर्गाैला फेर्नका लागि मिर्गाैलादाता जुटे पनि दाता र बिरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ। मिर्गाैला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखभन्दा माथि खर्च हुने अनुमान छ ।

४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुनुहुन्छ । उहाँले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गर्नुभएकाे थियाे । उहाँले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गर्नुभएकाे थियाे । पत्रकार दियालीका अनुसार उहाँ सङ्कटकालको समयमा तीन महिना हिरासतमा पर्नुभएकाे थियाे । उहाँलाई तीन सय ३५ दिन नजरबन्दमा राखिएको थियो ।

पत्रकार दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य, दलित विभाग संयोजक तथा नेपाल दलित पत्रकार सङ्घ र समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाउनुभयाे ।