• ११ जेठ २०८१, शुक्रबार

दुई महिनामा अठसट्ठी आगलागी

blog

बङ्गलाचुली गाउँपालिका–८, डाँगीबारीमा आगलागी भएको स्थान ।

लीलाधर वली 

घोराही, वैशाख २३ गते । दाङमा दुई महिनाको अवधिमा ६८ वटा आगलागीका घटना भएका छन्। सुक्खा समयसँगै हावाहुरी सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको छ । 

जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शम्भु आचार्यले दाङमा चैतदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा भएका ६८ वटा आगलागीका घटनामा तीन करोड ८६ लाख ४५ हजार दुई बराबरको क्षति भएको जानकारी दिनुभएको छ । प्रमुख आचार्यका अनुसार चैत महिनामा २५ वटा र वैशाख महिनामा ४३ वटा आगलागीका घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ । आगलागीका कारण घरगोठ, सरकारी कार्यालय, उद्योग, पसललगायतमा क्षति पुगेको छ । आगलागीका ४८ घटनामा ६३ घर र ४१ गोठमा क्षति पुगेको छ । 

आगलागीका घटनामा ४८ घरपरिवारका २१७ परिवार सङ्ख्या विस्थापित भएको आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी मौसम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढेका छन् । मानवीय लापर्बाहीका कारण आगलागीबाट क्षति भएको हो । जङ्गलमा लागेको आगो बस्तीसम्म आइपुगेर जिल्लाको देउखुरी क्षेत्रमा ठुलो क्षति गरेको आचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अन्य समयमा कहिलेकाहीँ आगलागीका घटना हुने गरे पनि सुक्खा समयमा जिल्लामा दिनहुँजसो आगलागी हुने गरेको छ । मानवीय लापर्बाहीसँगै कतिपय घरमा जङ्गलमा लागेको आगोले क्षति गर्ने गरेको छ ।” यो वर्ष आगलागीका कारण देउखुरीको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । जङ्गल क्षेत्रसँगै नजिक घर भएकाले राजपुर गाउँपालिकामा आगलागीका घटना धेरै भएका छन् । त्योसँगै घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, गढवा, बबई, दङ्गीशरण, शान्तिनगर र राप्ती गाउँपालिकामा आगलागीका घटना भइरहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म जिल्लामा १२० वटा आगलागीका घटना हुँदा २२५ परिवार सङ्ख्या विस्थापित भएका छन् । जसमा आठ करोड ७६ लाख नौ हजार दुई सय बराबरको क्षति भएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ७६ घर, ४५ गोठ, सवारीसाधन १२, सरकारी कार्यालय एउटा र उद्योग तथा व्यवसाय १२ वटामा क्षति पुगेको छ । आगलागीबाट दुई पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । त्यसै गरी १६ जना घाइते भएका छन् । आगलागीमा परेर ३७ वटा पशु चौपायाको जलेर मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।