• ५ जेठ २०८१, शनिबार

खानेपानीका मुहान सुकेपछि जिल्लाभर पानीको हाहाकार

blog

पर्वतको महाशीला वडा ५ मा रहेको लामेको धारा । तस्बिर :प्रनिश गिरी

प्रनिश गिरी
कुश्मा (पर्वत), वैशाख २२ गते । 
पर्वतको अधिकांश स्थानीय पालिकामा रहेका पानीको मुहान सुकेपछि गाउँघरमा पिउनेपानीको हाहाकार हुन थालेको छ । विगतमा कहिले पनि हिउँदमा नसुकेका धारा, पँधेरा, कुवा, खोलाको पानीका मूलहरू यसपालि सुक्न थालेपछि स्थानीय समुदायमा चिन्ता छाएको छ ।

अहिले जिल्लाको सातवटै पालिकाका अधिकांश स्थानमा पानीको मुहान सुकेपछि पिउने पानीको समस्या झेल्नु परेको छ भने कृषकले लगाएको हिउँदे खेती सुक्न थालेको छ । जिल्लाको महाशिला गाउँपालिका वडा ५ मा रहेको लामेको धारामा आइरहने पानी यसपालि सुकेको छ । स्थानीय पूर्णकला शर्मा भन्नुहुन्छ, “लामेको धारामा सुख्खा हिउँदमा पनि पानी आइरहन्थ्यो । पानी सुकेको आजसम्म थाहा थिएन तर यसपालि धारामा पानी सुकेको छ । चिर्दिखोलाको उकालो सकिएपछि बटुवाले भारी बिसाएर थकाइ मारी यही धाराको चिसाेपानी पिएर आफ्नो बाटो लाग्थे ।”

कुश्मा नगरपालिका वडा १३ का अध्यक्ष तेजप्रसाद शर्माका अनुसार पानीको मुहान सुक्दा स्थानीयवासीलाई पिउनेपानीको समस्या देखापरेको छ । अध्यक्ष शर्माले आफ्नो वडा आसपास पर्ने पानीका स्रोतहरू कुलाको चौर, छिपछिपे मूल, धोद्राको मूल, रिपको खोला, बोझेको पानीको मूल सुकेको बताउनुभयो ।

जिल्लाको कुश्मा नगरपालिकाको वडा ९ मा पर्ने ३ किमी लामो ज्ञादी सिँचाइ योजनाको  २०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको बताइन्छ ।

मल्याङ्दी र चिन्नेखोलामा बग्ने पानी सुकेपछि अहिले ज्ञादीफाँटको दुई हजार रोपनी जग्गालाई पानीको अभाव भएको वडा अध्यक्ष राम शर्माको भनाइ छ । कुश्मा नगरपालिका वडा ७ मा सदरमुकाम बजारसँगै रहेको खरेहा पँधेराको पानीको मूल २०७२ सालको भूकम्पपछि सुक्दै गएको स्थानीय शिक्षक नारायण गिरी बताउनुहुन्छ ।

मोदीगाउँ पालिकाकाको देउपुर टापु वडा २ मा पर्ने कल्छेउरी खोला, कपुरे खोलामा रहेका पानीका स्रोत सुक्दै गई कमिला हिँड्न थालेको स्थानीय विद्यालयका शिक्षक भूमिराज शर्माको दुखेसो छ । शिक्षक शर्मा भन्नुहुन्छ, “गाईबस्तु आहाल बस्ने, धानको बिउ राख्ने, खानेपानीको स्रोत, जङ्गली जनावरले पानी खाने खोलाको पानी अहिले सुकेको छ । बाह्रै मास नसुक्ने पानी सुकेपछि हिउँदेबालीका लागि सिँचाइ छैन ।”

यसैगरी, मोदीगाउँ पालिकाकाकै बाजुङ वडा ५ बाउसेका स्थानीयवासी फेसाले शिक्षक लक्ष्मण शर्माका अनुसार स्थानीयवासीले पिउनेपानीको प्रयोग गर्दै आएको सालघारीको पानीको मुहान भासिएर गएपछि गाउँलेहरूलाई खानेपानीकै समस्या भएको छ ।

विहादी गाउँपालिका वडा ६ का स्थानीयवासी अगुवा कृषक ऋषिराम भुसालले खानेपानीको मुहान सुकेपछि देखापरेको समस्याबारे उल्लेख गर्नुहुँदै भन्नुभयो, “लामो खडेरी कारण यस क्षेत्रका धेरै खानेपानी योजनाका मुहानहरू सुक्न गएका छन् । जस्तो सुनडाँडाका करिब ३० घरले पिउँदै आएको पानीका धारा सुकेका छन् । २०२० सालदेखि उहाँकी शालिग्रामका स्थानीयवासीलाई पिउने पानी उपलब्ध गराउँदै आएको वलौखोला खानेपानी योजनाको स्रोत सुक्न गएपछि अहिले दुई सय घरपरिवारलाई खानेपानीको अभाव भएको छ । खानेपानीको अभावकै कारण पिउने पानीका लागि टाढा खोलामा डोको बोकेर गाउँलेहरूले पानीको जोहो गर्नुपरेको छ । यी केही उदाहरण मात्रै हुन् यस क्षेत्रका धेरै स्थानहरूमा पिउनेपानीको स्रोत सुक्न जाँदा गाउँलेले दुःख भोग्नु परेको छ ।”

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका जलाधार व्यवस्थापन वरिष्ठ अधिकृत दिवाकर पौडेलले समुदायस्तरबाट पानीको स्रोत सुकेको गुनासो व्यापक आउने गरेको तर पानीको मुहान संरक्षणबारे कसैले चासो नदिएको बताउनुहुन्छ ।

“गाउँलेहरूले एक घर एक धारा भन्ने योजना लागू गर्दा पानीको मुहानमा सानो इन्टेक बनाउँछन् । मुहान मुन्तिर पोखरी बनाएर मात्रै पानी लैजाने गरेको भए पानी रिजार्च हुन पाउँथ्यो । खडेरीले लामो झरी हुन पाएको छैन । वर्षाको पानीलाई संरक्षण गरी पोखरीमा राख्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘पुर्खाहरूले पहिला माटो मुछेर ढुङ्गाको पर्खाल लगाई बनाउने पोखरी र आहालले पानी रिजार्च हुने गर्दथ्यो । पहिले पुर्खाहरूले मूल संरक्षण गर्दथ्यो तर अहिले कसैलाई मतलब छैन । जलाधार व्यवस्थापनमा ध्यान दिई मूल संरक्षण गर्न नसक्दा पानीको मूल नै पातलिएको छ ।”

वर्षात्मा लामो झरी परेर मूल फुट्न नसक्दा पानी जमिनको गहिराइसम्म नपुगेर रिचार्ज हुन नसकेको, जलवायु परिवर्तनको असर, गाउँघरमा मोटरबाटो खन्ने नाममा डोजर अव्यवस्थित चलाउँदा समेत पानीको मुहान सुक्न गएको अधिकृत पौडेलको भनाइ छ ।

गाउँले स्थानीवासीका भनाइमा गाउँघरमा अव्यवस्थित ढङ्गले डोजर प्रयोग गरी खनिएका मोटरबाटो, जङ्गलमा फैलिएको डढेलो, खनिएका जलविद्युत सुरुङ टनेल, लामो समयदेखिको खडेरी, मुहान संरक्षणका लागि गाउँलेको बेवास्ता, भूकम्प भइरहेका पोखरी मासिनु, जलवायु परिवर्तनका कारण पानीको स्रोत अहिले सुक्न पुगेको भन्ने छ ।