• १२ साउन २०८१, शनिबार

रामपुर नगरपालिकाले चार विद्यालयको तह र दरबन्दी घटायो

blog

इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २१ गते । 
जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थी सङ्ख्या थोरै भएका चार सामुदायिक विद्यालयको तह र दरबन्दी घटाएको छ । दुई विद्यालयको कक्षासँगै शिक्षक दरबन्दी र दुई वटाको शिक्षक दरबन्दी घटाएको हो ।

नगर शिक्षा समितिको बैठकले भर्ना अभियान पश्चात् अनुगमनको क्रममा विद्यार्थी सङ्ख्या न्यून पाइएपछि चार विद्यालयको कक्षा र शिक्षक दरबन्दी घटाउने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ । वडा नं. ४ को लक्ष्मी आधारभूत विद्यालय, वडा नं. १ को बालहित प्राथमिक विद्यालयको कक्षासहित दरबन्दी, वडा नं. ३ को शान्ति प्राथमिक विद्यालय र वडा नं. ९ को सिद्ध प्राथमिक विद्यालयको दरबन्दी घटाउने निर्णय भएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । ‘‘शिक्षक दरबन्दी भए पनि बसाइसराइका कारण विद्यार्थी सङ्ख्या न्यून भएकाले तह र दरबन्दी घटाइएको हो । अनुगमनका क्रममा बस्ती कम भएकाले विद्यार्थी सङ्ख्या घट्दै गएको पाइएकाले चार विद्यालयमा तह तथा दरबन्दी घटाएर कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’’ उहाँले भन्नुभयो ।

तह घटाएसँगै कक्षा ८ सम्म अध्यापन हुँदै आएको लक्ष्मी माविमा कक्षा ५ सम्म र कक्षा ५ सम्म अध्यापन हुँदै आएको बालहित प्राविमा कक्षा ३ सम्म सञ्चालन हुने भएको छ । त्यस्तै लक्ष्मी अावि र बालहित प्रावि बाट दुई/दुई जना, शान्ति प्रावि र सिद्ध प्राविबाट एक/एक जना गरी ६ जना शिक्षकको दरबन्दी घटाएको छ । दरबन्दी घटाइएको विद्यालयका शिक्षकहरूलाई अन्य विद्यालयमा व्यवस्थापन गरिने उहाँले बताउनुभयो । विद्यार्थी न्यून रहेको विद्यालयमा थोरै शिक्षक मार्फत कक्षा सञ्चालन गर्न सकिने, विद्यार्थी धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानीको सदुपयोग हुने भएकाले कक्षा र दरबन्दी घटाइएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

कक्षा घटाए पछि पढाइ प्रभावित हुने बालबालिकालाई उचित व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । थापाले भन्नुभयो, ‘‘तह घटाए पछि अन्य स्थानमा पढ्न जानु पर्ने विद्यार्थीका लागि मेयर छात्रवृत्ति कार्यक्रम मार्फत उचित व्यवस्था गरिने छ ।’’

नगरपालिकाले तह घटाएको विद्यालयमा विद्यार्थी वृद्धि भएमा आवश्यक व्यवस्था मिलाइने जानकारी दिनुभयो । कक्षा तह र दरबन्दी घटाएको विद्यालय मध्ये अनुगमनको क्रममा लक्ष्मी आविमा २७ जना भर्ना भएका मध्ये कक्षा ६ देखि ८ सम्म ५ जना, बालहित प्राविमा १२ जना भर्ना भएकामध्ये कक्षा ४ र ५ मा ५ जना विद्यार्थी रहेको थियो । कक्षा ३ सम्म सञ्चालन हुँदै आएको शान्ति प्राविमा ५ र सिद्ध प्राविमा ६ जना मात्र भर्ना भएका थिए ।