• १३ साउन २०८१, आइतबार

तरकारी र फलफूलमा विषादीको मात्रा कम

blog

तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परिक्षण गर्नुहुँदै प्रयोगशालाका नायव प्राविधिक सहायक गौरव चौधरी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २१ गते । बाँके लगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी र फलफूलमा गतवर्ष भन्दा यस वर्ष विषादीको मात्रामा कमी पाइएको छ ।

कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जका नायव प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा परीक्षण गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कमी पाइएको बताउनुभयो ।

चौधरीका अनुसार गतवर्ष मङ्सिरदेखि असारसम्म आठ महिनाको अवधिमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको एक हजार ८५ वटा नमुना परीक्षण गर्दा १६ वटा नमुनामा कैफियत पाइएको थियो । जसमध्ये १० वटा नमुनामा (रेड लेबल) उपभोग गर्न नमिल्ने र ६ वटा नमुनामा (यल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको थियो ।

यस वर्षको साउनदेखि वैशाख २० गतेसम्म दश महिनाको समयावधिमा प्रयोगशालामा ८ सय ४९ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको र पाँचवटा नमुनामा कैफियत पाइएको चौधरीको भनाइ छ । उहाँका अनुसार तीन वटा नमुनामा (रेड लेबल) उपभोग गर्न नमिल्ने र दुई वटा नमुनामा (यल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको हो ।

गत वर्ष धेरैजसो टमाटर, साग, स्कूस, फर्सी तथा काँक्राको नमुनामा विषादीको मात्रा देखिएको र यस वर्ष भाजीको सागको चारवटा नमुना र एउटा काउलीको नमुनामा विषादीको मात्रा देखिएको उहाँले बताउनुभयो । जसमध्ये दुईवटा भाजीको साग र एउटा काउलीको नमुनामा उपभोग गर्न नमिल्ने (रेड लेबल) र दुईवटा भाजीको सागको नमुना पुनः परिक्षणपश्चात विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने (यल्लो लेबल) पाइएको र अन्य फलफूल तथा तरकारीजन्य वस्तुमा विषादीको मात्रा नपाइएको चौधरीको भनाइ छ ।

तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ग्रिन लेबल भनिने र उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेबल भनिने र त्यसलाई चार पाँच दिनसम्म क्वारेनटिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत देखिएमा त्यो पनि उपभोग गर्न मिल्ने र ४५ प्रतिशत भन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न नमिल्ने चौधरीले बताउनुभयो ।

गत वर्ष परीक्षण गरिएका एक हजार ८५ नमुनामध्ये कैफियत पाइएका १६ वटै नमुना बाँके जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका तरकारी तथा फलफूलजन्य वस्तु रहेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गतवर्ष बाँकेमा उत्पादन गरिएका ५ सय ४६, दाङमा उत्पादन भएका ३७, भारतमा उत्पादन भएका ३ सय १९, रोल्पाका ६, सुर्खेतका ८, दैलेखका २, चितवनका ६५, सल्यानका ४५, बर्दियाका ५१, डडेलधुराको एक, कैलालीका ३ र रुकुमका २ वटा नमुना प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यसवर्ष भारतबाट आयात गरिएका २ सय ३६, बाँके जिल्लाका ३ सय ९९, सल्यानका १ सय ४, दाङका ४०, बर्दियाका २०, दैलेखका ६, रोल्पाका ८, जाजरकोटको एक, सुर्खेतका ३ र चितवनमा उत्पादन गरिएका ३२ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको प्रयोगशालामा परीक्षण गरिएको छ । जसमध्ये बाँकेमा उत्पादन भएका चारवटा भाजीको सागको नमुना र सल्यानमा उत्पादन भएको काउली गरी पाँचवटा नमुनामा कैफियत पाइएको हो ।

गत वर्ष दैनिक ९ देखि १० वटासम्म नमुनाको परीक्षण गरिएता पनि यसवर्ष भने परीक्षण गर्ने किटको अभावका कारण दैनिक पाँचवटा सम्म मात्र नमुना परीक्षण हुँदै आएको चौधरीले बताउनुभयो । एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजा आउने उहाँको भनाइ छ । 

कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जबाट गतवर्ष मङ्सिर महिनादेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमुना परीक्षण सुरु गरिएको हो ।