• ५ जेठ २०८१, शनिबार

सीमान्तकृत थामी समुदायलाई भूकम्प प्रतिरोधी आवास

blog

बिगु गाउँपालिका–८ थामीचागुमा निर्माण हुँदै गरेको भूकम्प प्रतिरोधी पक्की आवास । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, वैशाख २१ गते । ढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८ थामीचागुका भूकम्पपीडित सीमान्तकृत थामी समुदायका करिब चार दर्जनले भूकम्प प्रतिरोधी पक्की निजी आवास पाएका छन् । 

लाभग्राही सूचीमा पर्न नसकेका सीमान्तकृत थामी समुदायका ४५ जनाले जनता आवास कार्यक्रमबाट भूकम्प प्रतिरोधी पक्की निजी आवास पाएका सहरी विकास तथा भवन कार्यालय काभ्रेपलान्चोकका प्रमुख सन्तोषकुमार निरौलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार लाभग्राही सूचीमा पर्न नसकेका भकारी बेरेर जीवन बिताइरहेका सीमान्तकृत थामी समुदायका ६९ जनाले आवेदन पेस गरेका थिए । जिल्लामा परेका ५५ कोटामध्ये अत्यावश्यक देखिएका ४५ जना थामी समुदायले आवास निर्माण गरेका छन् । १५÷१५ वटा तीन चरणमा आवास निर्माण भएका छन् । बाँकी कोटा १० मा सैलुङमा दुई, जिरीमा तीन र तामाकोसीमा पाँच वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

यहाँ उनीहरूको जग्गा अनुसार १२ बाइ १२ क्षेत्रफलमा दुई कोठे भूकम्प प्रतिरोधी पक्की आवास निर्माण भएका छन् । सङ्घको अनुदान अनुसार पहिलो किस्ता एक लाख, दोस्रो किस्ता एक लाख र बाँकी किस्ता साढे एक लाख गरी साढे तीन लाख एकमुष्ट उनीहरूले पाउनेछन् । 

सहरी विकास तथा भवन कार्यालय काभ्रेपलान्चोकका प्रमुख निरौलाले भन्नुभयो, बागमती प्रदेशले अब बाँकी रहेका शिक्षा, स्वास्थ्य, रोजगारी समेतमा पहुँच नपुगेका भूकम्पपीडितको विवरण माग गरिरहेको छ । करिब छ सयको विवरण प्राप्त भएको छ । अनुगमन गरी यथार्थ पत्ता लगाउने काम भइरहेको छ । 

कार्यविधि अनुसार अब छनौट भएका भूकम्पपीडितहरूले प्रदेशबाट आवास निर्माणका लागि चार लाख रुपियाँ पाउने उहाँले जानकारी दिनुभयो ।