• ४ जेठ २०८१, शुक्रबार

लेखा परीक्षणमा सहकार्य गर्न नेपाल–भारतबिच समझदारी

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भारतका नियन्त्रक एवं महालेखा परीक्षक गिरीशचन्द्र मुर्मू शिष्टाचार भेट गर्नु हुँदै ।

काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका भारतका नियन्त्रक एवं महालेखा परीक्षक गिरीशचन्द्र मुर्मूले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटघाटमा नेपाल र भारतका लेखा परीक्षणका क्षेत्रमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा उहाँहरूबिच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो । लेखा परीक्षणको क्षेत्रमा दुई देशबिच क्षमता अभिवृद्धि गरी लेखा प्रणालीलाई चुस्त बनाउने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो । 

नेपालको महालेखा परीक्षक र भारतको महालेखा परीक्षकबिच भएको समझदारीले दुई देशबिच सहयोग एवं अनुभव आदानप्रदानमा सहयोग पुग्ने प्रधानमन्त्री प्रचण्डले धारणा व्यक्त गर्नुभएको सल्लाहकार सापकोटाले बताउनुभयो । 

नेपालका महालेखा परीक्षक तोयम राया र नेपालमा भ्रमणमा रहनुभएका भारतीय नियन्त्रक तथा महालेखा परीक्षक गिरीशचन्द्र मुर्मूबिच भेटवार्ता भएको छ । 

बिहीबार भएको भेटघाटका क्रममा सार्वजनिक क्षेत्रको लेखा परीक्षणको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । यो समझदारीपत्रले क्षमता अभिवृद्धि प्रयासलाई बढावा दिनुका साथै सार्वजनिक क्षेत्रको लेखा परीक्षणको क्षेत्रका कार्यप्रणालीमा सुधारमा ध्यान केन्द्रित गर्ने जनाइएको छ । 

नेपालको लेखा परीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै भारतका महालेखा परीक्षक मुर्मूले आगामी दिनमा दुई देशका लेखा परीक्षकहरूले एकअर्काको अनुभव र सिप सिक्ने गरी सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।