• ४ जेठ २०८१, शुक्रबार

सिँचाइ कुलो भत्किएको दुई वर्षसम्म भएन पुनर्निर्माण

blog

२०७९ सालमा भत्केको घोडाघोडीस्थित बग्धौली सिँचाइ कुलो । तस्विरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), वैशाख २० गते । यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दासमेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।

घोडाघोडी नगरपालिका वडा –१ घोडाघोडी, कौवा, कैलाशपुर र सुखडका किसानको सयौं बिघा जमिन तालबाट ल्याइएको पानीले सिँचित हुँदैआएको थियो । २०७९ सालको बाढीले घोडाघोडी पूवीओझुवा तालनजिक करिब एकसय मिटर पक्की कुलो र बाँध भत्काएपछि किसानको खेत सिँचाइमा समस्या आएको छ ।

घोडाघोडी गाउँका राजु आचार्यले सिँचाइ सुविधाका कारण बाह्रैमास खेती हुने जग्गा गत वर्षदेखि आकाशको भरमा खेती लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिखेर कुलोको पानी भएको भए बीउ राखिसक्ने बेला भयो, वर्षे मकै लगाइन्थ्यो, सिँचाइ नहुँदा बीउ राख्न समस्या भएको छ । नल्काको पानीले बीउ राखे पनि समयमा पानी परेन भने बीउ सुकेर मर्ने र धान कम फल्ने समस्या हुन्छ ।”

घोडाघोडीका किसानले परम्परागतदेखि नै नकरोड तालको पानी खेतसम्म ल्याउन प्रत्येक वर्ष किसानले श्रमदान गरी कुलो सरसफाइ, निर्माण गर्दैआएका थिए । किसानकै प्रयासमा बग्धौली सिँचाइ उपभोक्ता समिति गठन गरी केहीवर्ष पहिले बजेटको व्यवस्था गरी कुलोको स्तरोन्नतिसँगै पक्की कुलो निर्माण गरिएको थियो ।

कुलोमा पानी नियन्त्रणका लागि बनाइएको आउटलेटसहित पक्की कुलो २०७९ साल भदौमा आएको बाढीले भत्काएपछि अहिलेसम्म निर्माण हुन सकेको छैन । कुलो निर्माण हुन नसक्नु उपभोक्ता समिति कमजोर रहेको आरोप किसानको छ । 

बग्धौंली सिँचाइ उपभोक्ता समितिका सचिव दिलबहादुर धामीले आफूहरु समितिमा नआउँदै कुलो भत्किएको जनाउँदै आफूहरु भर्खरै समितिमा आएको र कुलो निर्माणका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ डिभिजन कार्यालयमा कुलो मर्मत निर्माणका लागि प्रस्तावना पेश गरेका छौं, सके डल्लो बजेटबाट यस वर्ष नसके आगामी वर्षको बजेटमा आउने गरी अगाडि बढाउने आश्वसन दिनुभएको छ ।” 

नकरोड तालको पानीलाई कुलोको माध्यमबाट यहाँका किसानले वर्षौ पहिलादेखि आफ्ना खेतबारीसम्म लगेर वर्षभरि सिँचाइ गरी धान, मकै, गहुँ खेती गर्दैआएका थिए । समय समयमा किसान आफैँ एकजुट भइ कुलो सफा, ड्याम मर्मत गर्दैआएको बताउने स्थानीय सीता बिकले कुलोको पानी आलोपालो गर्दै सबैले समयमै खेती लगाउँदै आएको बताउनुभयो । 

सिँचाइ डिभिजन कार्यालयको सहयोगमा निर्माण भएको करिब १४० मिटर कुलो पक्की निर्माण तथा ड्याम निर्माण भएको बग्दौली सिँचाइ जल उपभोक्ता समितिले जनाएको छ । 

बाढीले भत्काएको पक्की कुलो पुनर्निर्माणका लागि करिब ५० लाख लाग्ने जनाउँदै केन्द्र सरकार र प्रदेश सरकारका सांसद, स्थानीय सरकार प्रमुखलाई पटक–पटक सिँचाइको समस्या बारेमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उपभोक्ता समितिका निवर्तमान उपाध्यक्ष हरिलाल सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष पुनर्निर्माण हुन सकेन, भत्किएको ठाउँमा गत वर्षको बाढीले थप क्षति गर्दा  बढी खर्च लाग्ने देखिएको छ ।”

असार १५ सम्म बग्धौली सिँचाइ कुलोको पानीले धान रोपेर सक्ने यहाँका किसान अहिले जग्गा बाँझो हुने हो कि  भन्ने चिन्तामा छन् । जल उपभोक्ता समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार समिति सदस्य नरहरी रिजालले बग्धौली सिँचाइ आयोजनाबाट दुईसय हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुनेगरेको बताउनुभयो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कैलालीका प्रमुख अमरबहादुर पालले बग्धौंली सिँचाइ योजना समस्याबारेमा आफूकहाँ भर्खरै मात्र जानकारी आएकाले बजेटका लागि आगामी वर्षको योजनामा पर्नेगरी फाइल अघि पढाउने बताउनुभयो । उहाँले खेतीयोग्य जमिन, पानीको स्रोत, उपभोक्ता सङ्ख्याको आधारमा योजना छनौट हुने जनाउँदै घोडाघोडी सिँचाइ पक्की कुलो निर्माणमा डिभिजनको सहयोग भए पनि मर्मत सम्भार र संरक्षण गर्न नसक्नु उपभोक्ताको कमजोरी रहेको बताउनुभयो ।