• ४ जेठ २०८१, शुक्रबार

‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले आज सो कुरा बताउनुभएको हो ।

सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइवर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दिनानुदिन बढ्दै गइरहेको साइवर अपराधसम्बन्धी घटनाहरू नियन्त्रण गरिने बताउनुभयो । 

“संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरूपयोगको विषयलाई प्रभावकारी रूपमा नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै  नीति, कानुन  र संरचना निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “राष्ट्रिय साइबर सुरक्षा नीति २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा छ । साइवर सुरक्षाको जोखिम पहिचान, प्रतिकार्य अनुगमन गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको छ ।”


डाटा सेन्टर स्थापना प्राथमिकतामा

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टरहरूको स्थापनालाई प्राथमिकता दिने बताउनुभएको छ । उहाँले विद्युतीय ऊर्जाको प्रचुर सम्भावना एवं भौगोलिक अवस्थितिलाई समेत मध्यनजर गरी सेन्टर स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

“विश्वस्तरका तालिम प्रदायकहरूलाई आकर्षित गरी सीपयुक्त दक्ष जनशक्तिको निर्माण गरिनेछ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सूचना प्रविधि उद्योगको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गरिनेछ । साथै निर्यात प्रवर्द्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ गर्नेलगायतका विषयहरू सरकारको प्राथिमिकतामा छन् ।”

सञ्चार तथा सूचना प्रविधिको  विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप नै डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई पुनरवलोकनसहित कार्यान्वयनमा ल्याउने रणनीति सरकारको भएको बताउनुभयो ।