• ९ जेठ २०८१, बुधबार

बेनीमा मजदुर दिवस मनाइयो

blog

बेनीमा निकालिएको र्‍यालीका सहभागी मजदुरहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख १९ गते । एक सय ३५ औँ विश्व मजदुर दिवसका अवसरमा बेनीमा मजदुरहरूले र्‍याली निकालेका छन् । मजदुरहरूले ट्रेड युनियनको झन्डा, बाजागाजा र 

झाँकीसहित बजारमा र्‍याली निकालेका हुन् । 

नौमती बाजा सहित बेनीको वीरेन्द्रचोकबाट सुरु भएको र्‍यालीले मजदुर हितका विभिन्न नाराहरू लगाउँदै मंगलाघाट, न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट) म्याग्दीको आयोजनामा आयोजित र्‍यालीमा मजदुरहरूले श्रमिकको पेसागत मर्यादा, सम्मानको प्रत्याभूति र राज्यका निकायहरूमा प्रतिनिधित्वको माग लगायतका नारा लगाएका छन् । 


श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदै छ ।