• ८ जेठ २०८१, मङ्गलबार

राजमार्ग विस्तारका लागि ७ दिनभित्र घर भत्काउन व्यास नगरपालिकाको आग्रह

blog

दमौली बजारको अधिकांशले नभत्काएको घरहरु । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १८ गते । तनहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीको सडक सीमाभित्रको घर सात दिन भित्र भत्काउन आग्रह गरेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्राधिकार भित्र रहेको घर भत्काउन ढिला हुँदा प्रभावित भएकाले नगरपालिकाले आग्रह गरिएको हो । 

राजमार्गको अन्यत्र काम धमाधम भइरहेपनि दमौलीमा सडक विस्तार हुन सकेको छैन । नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्ति आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड) को विस्तार कार्यमा व्यास नगरपालिका अन्तर्गत वडा नं.२, ३, ४ को पूर्वमा बुल्दीखोला पश्चिममा मादी नदी पुलसम्मको भागमा निर्माण कार्यले गति लिन सकेको उल्लेख गरी भत्काउन आग्रह गरिएको छ । यसमा वडा नं. ४ का २१ घरधनी र वडा नं.२ का १९ घरधनीले सडक अधिकार क्षेत्र २५ मिटर दायाँबायाँ भत्किने घरको मुआब्जा बुझ्ने तर भत्काउने कार्य नगर्ने गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कतिपयले मुआब्जाका लागि निवेदन प्रक्रियामा सहभागी हुन नआउने भनी यस नगरपालिकामा जानकारी प्राप्त भएकाले व्यास नगरपालिकाको ध्यान आकर्षण भएको छ । तत्काल घर भत्काउने कार्य गरी सहयोग पुर्‍याउनु पर्ने जनाइएको छ । घर नभत्काउँदा बजार क्षेत्रको सडक विस्तार अवरुद्ध हुने, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य हुने र जनजीवनमा आक्रान्त पार्ने,  सडक निर्माण कार्यको म्याद समाप्त भइसकेकाले थप भएको म्यादभित्र सडक निर्माण हुन नसकेमा आयोजनाको अवधि समाप्त भएपछि हाल प्राप्त क्षतिपूर्ति प्राप्त हुने अवस्थाको समेत अन्त्य हुने जनाइएको छ । 

यस्तै, आयोजना अवधि समाप्त भएपछि सडक अधिकार क्षेत्र २५ मिटर खाली गर्न सम्बन्धित निकायले कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । सडक क्षेत्रका घरहरू नभत्काई अलमल गरिरहनु दमौली बजार र घरधनी स्वयम आफ्नै हितमा समेत नहुने हुँदा तत्काल सात दिनभित्र घर भत्काई सहयोग पुर्‍याउन सूचित गरिएको छ । साथै घर भत्काउनेहरूले समेत नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफू खुसी सडक क्षेत्र २५ मिटरभित्र (२ मिटरमा) पुनः घर विस्तार गर्दा समेत क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा कटौती हुनेतर्फ सचेत गराइएको छ । अधिकांशले घर भत्काउन आलटाल गरेपछि सोमबार व्यास नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरी तुरुन्त घर भत्काएर निर्धारित समयमा काम पुरा गर्न सहयोग गर्न आग्रह गरेको हो । 

अब चाँडै नै वर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तीव्रता दिई सहरको सौन्दर्यता र धुलोले वातावरणमा पुर्‍याएको असरलाई कम गर्न आग्रह गरिएको छ । पूर्वी खण्डको कामका लागि वि.स २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । काम थालिएको लामो समयसम्म बजारको घर नभत्काउँदा यहाँका सडक धुलाम्मे बनेका छन् । 

सडकमा उडेको धुलोले सवारी साधन प्रयोगकर्तादेखि सडक यात्रु र छेउछाउमा बसोबास गर्नेहरूलाई सास्ती भएको छ । सडक नजिकका बस्तीहरूमा धुलोले असर गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । मुआब्जा समेत निर्धारण गरिसकेकोले चाँडै भत्काएर राजमार्ग विस्तारको काम मद्दत गर्नुपर्ने पूर्वी खण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो । 

सडक अतिक्रमण गरी बनाइएका घर नभत्काउँदा आयोजनाको समय अवधि लम्बिने र लागत मूल्य बढ्ने भएकोले गम्भीर हुनुपर्ने यादवले बताउनुभयो । यादवले भन्नुभयो, “आयोजनाले चिठी लेखेर पटक पटक भत्काउन आग्रह गरेका छौँ, तर खाली गर्नुभएको छैन ।’’ ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद सकिएको छ ।