• ४ जेठ २०८१, शुक्रबार

सत्तारुढ दलबीच चुनावी तालमेल गरेर जाने सहमति

blog

फाइल फोटो

काठमाठौं, वैशाख ७ गते । सत्ता साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले सो सहमति गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  स्थानीय तहको निर्वाचनमा छ वटा महानगरपालिका र ११ वटा उपहानगरपालिकाहरुको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने पाँच दलबीच सहमति भएको जानकारी दिनुभयो । 

पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा सो कुरा उल्लेख छ ।

प्रवक्ता कार्कीले काठमाडौं, ललितपुर, विरागनगर महानगरपालिका र धरान, इटहरी, कलैया, बुटवल, तलसिपुर, नेपालगञ्ज तथा धनगढी उपमहानगरपालिकाहरुमा प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको जानकारी दिनुभयो । त्यस्तै, वीरगञ्ज, भरतपुर, पोखरा महानगरपालिका र जितपुर सिमरा, घोराही तथा हेटौँडा उपमहानगरपालिहरुमा उपप्रमुख पदमा काँग्रेसको तर्फबाट उम्मेदवारी दिने सहमति भएको छ ।

पाँच दलबीच भएको सहमतिअनुसार भरतपुर महानगरपालिका र जितपुर सिमरा तथा घोराही उपमहानगरपालिमा नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । साथै, ललितपुर महानगरपालिका र धरान तथा धनगढी उपमहानगरपालिकामा उपप्रमुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने भएका छन् ।

पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ । साथै, काठमाडौं महानगरपालिका र इटहरी, बुटवल तथा तुलसीपुर उपमहानगरपालिकामा उपप्रमुख पदमा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएका छन्।

सहमतिअनुसार वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । साथै, विराटनगर  महानगरपालिका र  कलैया, नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पदमा जसपाले उम्मेदवारी दिने सहमति पाँच दलबीच भएको छ ।