• ३१ वैशाख २०८१, सोमबार

जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित हुँदैछ : मन्त्री बस्नेत

blog

उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । फाइल तस्बिर

काठमाडौँ, वैशाख १६ गते । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित भइरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलविद्युत नेपालको समग्र आर्थिक विकासको निम्ति महत्त्वपूर्ण पूर्वाधार मात्रै नभइ व्यापार र आर्थिक क्षेत्रको रुपमा स्थापित हुँदै गएको बताउनु भयो ।

उहाँले सरकारले जलविद्युत उत्पादन, प्रसारण, वितरण प्रणालीको सुधारको एउटा समग्र योजनाका साथ काम गरिरहेको पनि बताउनु भयो ।

उहाँले उत्पादन, प्रशारण, वितरण प्रणालीलाई व्यवस्थित गर्नका लागि आवश्यक पर्ने लगानी जुटाउन र लगानीमैत्री वातावरणका लागि तयार हुनुपर्ने बताउनुभयो  । उहाँले जलविद्युत उत्पादनमा लगानी बढाउने कुरालाई मध्यनजर गरी सरकारले वन क्षेत्र, जग्गा प्राप्तिसँग सम्बन्धित कानुनहरु केही नेपाल ऐन संशोधनमार्फत सुधार गरेको जिकिर गर्नुभयो । उहाँले जलश्रोतको अधिकतम सदुपयोगको निम्ति उत्पादन वृद्धिको योजना बनाइएको पनि बताउनुभयो ।

‘‘अब जलविद्युत नेपालको समग्र आर्थिक विकासको निम्ति महत्त्वपूर्ण पूर्वाधार मात्रै होइन, अब व्यापारको क्षेत्रसमेत बन्न पुगेको छ । जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित हुँदै गइरहेको छ । अब हामी यहाँ आइपुग्दाखेरी अब उत्पादन, प्रसारणको, वितरण प्रणालीको सुधारको एउटा समग्र योजनाका साथ काम गरिरहेका छौँ ।,’’मन्त्री बस्नेतले भन्नुभयो, ‘‘हामीले उत्पादन, प्रसारण, वितरण प्रणालीलाई व्यवस्थित गर्नका लागि आवश्यक पर्ने लगानी जुटाउन र लगानीमैत्री वातावरणका लागि तयार हुनुपर्ने हुन्छ नै । सरकारले यही कुरालाई महशुस गरेर वन क्षेत्रसँग सम्बन्धित कानुनहरु, जग्गा प्राप्तिसँग सम्बन्धित कानूनहरु केही नेपाल ऐन संशोधनमार्फत सुधार पनि गरेको छ । हामीले हाम्रो जलस्रोतको अधिकतम सदूपयोगको निम्ति हामीले उत्पादन वृद्धिको योजना बनाएका नै छौँ ।’’

मन्त्री बस्नेतले विद्युतमा लगानी गर्नको निम्ति थप अनुकुलनको वातावरण निर्माण भइरहेको बताउनु भयो । उहाँले देशभर ९८ प्रतिशत जनताको पहुँचमा विद्युत पुगिसकेको दाबी गर्दै आगामी एक वर्षभित्र सबै नागरिकहरुमा विद्युतको पहुँच पुर्‍याउने प्रतिवद्धता जनाउनु भयो ।