• ३१ वैशाख २०८१, सोमबार

ओखलढुङ्गामा एक करोड ४३ लाखभन्दा बढी राजस्व सङ्कलन

blog

शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख १६ गते ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक करोड ४३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि चैत्र मसान्तसम्म नौ महिनाको अवधिमा एक करोड ४३ लाख २७ हजार ५९० रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

राहदानी शुल्क, न्यायिक दण्ड, जरिवाना, जफत शुल्क, कम्पनी संस्था रजिष्ट्रेशन नवीकरण लगायतको शीर्षकमा कार्यालयले उक्त राजस्व सङ्कलन गरेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा. नारायणप्रसाद ढकालले बताउनुभयो ।

यहि अवधिमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र तीन हजार २४२, नागरिकता प्रतिलिपि दुई हजार १५८, नाबालक परिचयपत्र ८१ वटा वितरण गरेको प्रजिअ डा.ढकालले जानकारी दिनुभयो ।

यसका साथै वैवाहिक अङ्गिकृत नागरिकता दुई, कर्मचारी परिवारको नाता एक, गैह्र आवासीय नेपाली नागरिकता दुई जनालाई प्रदान गरिएको र एक जनाले नागरिकता परित्याग गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दुई हजार ७१५ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशारन कार्यालय ओखलढुङ्गाले जनाएको छ । सेवाग्राही नागरिकको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रदान भइरहेको प्रशासनले जनाएको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा बिदाको दिन पनि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।