• २९ वैशाख २०८१, शनिबार

बझाङ उपनिर्वाचन : १ बजेबाट मतगणना सुरु हुने

blog

मतगणनाका लागि बझाङमा बसेको सर्वदलीय बैठक । तस्बिर : शैलेन्द्र रोकाया

शैलेन्द्र  रोकाया
बझाङ, वैशाख १६ गते । 
बझाङ क्षेत्र नम्बर १ मा शनिबार भएको प्रदेश सभा (क) उपनिर्वाचनको मतगणना कार्य आइतबार दिउँसो १ बजेबाट हुने भएको छ ।

शनिबार साँझदेखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न गरिएपनि आज बिहान साइपाल गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइएपछि मतगणना गर्न सर्वदलीय बैठकले निर्णय गरेको छ । मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु हुने समेत बताइएको छ । सर्वदलीय बैठकले अन्य आचारसंहिता समेत बनाएको छ ।

कुल ६१ हजार ७४८ मतदाता रहेको क्षेत्र नम्बर १ का ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा शनिबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो । उपनिर्वाचनमा ३० हजार ३ सय २८ जना सहभागी भएकोमा ४९.१२ प्रतिशत मत खसेको थियो ।

यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो । विभिन्न दलका ११ जना उम्मेदवार छन् । एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट सुशीला देवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन् ।