• २८ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय बुद्धिचाल : नवीनसहित ११ खेलाडी अग्रस्थानमा

blog

दोस्रो दिन चाल चल्दै खेलाडी ।

काठमाडौँ, वैशाख १५ गते । ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको संयुक्त आयोजनामा जारी नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाउनुभएको छ । उहाँले दोस्रो दिन खेल पश्चात् तीन चरणको खेलमा सत प्रतिशत जित निकाल्दै तीन अङ्कसहित अग्रस्थानमा रहनुभएको हो । 

नविनले आफु भन्दा उच्च १९३३ रेटेड सविन चन्द्र घिमिरेलाई पराजित गर्नुभयो । उहाँले पहिलो चरणमा काठमाडौँका वसन्त गुरुङ र दोस्रो चरणमा ललितपुरका सकार राईलाई हराउनुभएको थियो । 

शनिबार नेपाली खेलक्षत्रमा योगदान दिँदै आउनुभएका किशोर महर्जन र रञ्जन ठकुरी घोषालेले खेलको सुरु गर्नुभएको थियो । अर्को खेलमा नेपाल च्याम्पियन बद्रीलाल नेपालीले तीन अङ्क जोड्ने क्रममा पहिलो खेलमा अरिन मुनि बज्राचार्यलाई दोस्रो खेलमा निग्मा शेर्पा र तेस्रो खेलमा सिन्दिरा जोशीलाई हराउनुभयो । 

नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सञ्चालित प्रतियोगितामा हेटौँडाका क्षितिज भण्डारी, दुई पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू–१६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज महर्जन, झापाका राजन सुवेदी, ललितपुरका रुपेश जैसवाल,ललितपुरकै कमल श्रेष्ठ, भक्तपुरका निकेन कुसाथा समेतले सबै खेल आफ्नो आफ्नो पक्षमा राख्दै संयुक्त रुपमा शीर्षस्थानमा रहनुभएको छ । 

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा एक सय १० खेलाडीको सहभागिता रहेको छ । विजेतालाई यामाहा सलुटो मोटरसाइकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले  जानकारी दिनुभयो । सातौँ चरणसम्म चल्ने प्रतियोसिगतामा विभिन्न विधामा ४० जना खेलाडीलाई ६ लाख ३७ हजार चार सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।