• २७ वैशाख २०८१, बिहिबार

सरकार लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न क्रियाशील : मन्त्री भण्डारी

blog

द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी

काठमाडौँ, वैशाख १५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताउनुभएको छ । लगानी सम्मेलनको सम्मुखमा उहाँले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सोही कुरामा केन्द्रित रहेर आउने दाबी गर्नुभयो । मन्त्री भण्डारीले सरकारले जनतामा विद्यामान निराशालाई चिरेर अघि बढ्ने गरी न्युनतम साझा नीतिगत प्राथमिकता र सङ्कल्प अघि सारेको पनि दोहोर्‍याउनुभयो । उहाँले सरकारले तयार पारेको नीतिगत प्राथमिकता र सङ्कल्पको आधारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आउने पनि बताउनुभयो ।

‘‘हामी सरकारमा छौं । सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिका समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा जो हाम्रो गन्तव्य हो । आजको चुनौति संविधान कार्यान्वयन भएका झण्डै एक दशकको आसपासमा हामी संविधान जारी गर्‍यौं । तर पनि आशा र निराशाको बिचमा राष्ट्रिय राजनीति रुमलिइरहेको छ । त्यो निराशालाई चिर्दै आशाबाट हामीले राष्ट्रिय राजनीतिलाई ड्राईभ गर्नुपर्नेछ । त्यो काममा वर्तमान सरकार क्रियाशील रहेको छ । र, सरकारको न्यूनतम साझा नीति र नीतिगत प्राथमिकताले यी कुराहरुलाई सम्बोधन गरेको छ ।,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘यतिखेर सरकारले हामी लगानी सम्मेलनमार्फत आज वाह्य पुँजी र राष्ट्रिय पुँजीलाई हामीले उत्पादनसँग जोड्नुपर्ने, व्यवसायसँग जोड्नुपर्ने, उद्यमशीलतासँग जोड्नुपर्ने आजको आवश्यकता छ । त्यसैगरेर हामी नयाँ आर्थिक वर्षको पनि सम्मुखमा छौं । नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि हामी तयारीमा रहेका छौं । अहिलेसम्म नीति एकातिर हुन्थ्यो, बजेट अर्कोतिर । त्यसैले हामीले नीतिगत प्राथमिकता बजेटले पछ्याउने गरी, बजेटले नीतिलाई सम्बोधन गर्नेगरी सरकारले यसलाई प्राथमिकतामा राखेको छ ।’’

मन्त्री भण्डारीले वर्तमान सरकारले नीतिगत आधारित बजेटको व्यवस्था गर्ने बताउनुभयो ।