• २७ वैशाख २०८१, बिहिबार

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री डा.खतिवडा

blog

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा । फाइल तस्बिर

काठमाडौँ, वैशाख १५ गते । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताउनुभएको छ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा कुरा गर्दै उहाँले भन्नुभयो, “सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठुला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ । एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ ।”

सम्मेलनका लागि सरकारको झन्डै एक दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरेको काम सकारात्मक भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा.खतिवडाले अरू धेरै कानुन खासगरी ऐन र केही नियम संशोधन गर्दै जानुपर्ने सुझाव दिनुभयो । “कतिपय ऐन नै नयाँ ड्राफ्ट गर्नुपर्ने भएको छ । संसदमा गएका ऐनहरू पास गर्नुपर्नेछ । सार्वजनिक निजी साझेदारीमा वैदेशिक लगानी ल्याउने हो भने सार्वजनिक खरिद ऐन लागू हुन्छ त्यहाँ त्यसैगरी निजी सार्वजनिक साझेदारीका ऐनका कतिपय प्रावधान मिलाउनुपर्ने होला,” राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका डा.खतिवडाले भन्नुभयो ।

विदेशी लगानीको बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्नुपर्ने कानुन ल्याउनुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “विदेशी विनिमय ऐन अलि कठोर छ अहिले त्यसलाई अलि खुकुलो पार्नुपर्ने होला । कम्पनी ऐनमा कतिपय कुरा थप्नुपर्नेछ । विद्युत ऐनमा परिमार्जनको खाँचो छ ।” सम्मेलनको तयारीलाई सामान्यरुपमा लिनुपर्ने उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा.खतिवडाले सम्मेलनको तयारी उत्कृष्ट पनि हैन र तयारी नै नपुगेको पनि हैन भन्नुभयो । वर्तमान सरकार आएको दुई महिना पूरा नभएको भन्दै उहाँले बिचमा सरकार परिवर्तनको हल्लाले पनि तयारी प्रभावित भएको उल्लेख गर्नुभयो । 

लगानीयोग्य आयोजनाहरूलाई तयारी अवस्थामा राखेर लगानी बोर्डलाई सहयोग गर्ने कुरामा सरकार र निजी क्षेत्रको सहयोग तथा सहकार्य आवश्यक रहेकामा पूर्वअर्थमन्त्री डा.खतिवडाले जोड दिनुभयो । प्रदर्शनमा राखिएका डेढ सय जति आयोजनामध्ये कम्तीमा पनि दर्जन जति आयोजना सम्झौताको चरणमा तथा समझदारीको चरणमा जाँदा पनि राम्रै हुने उहाँको भनाइ थियो । “खास गरी नेपाली र विदेशीको संयुक्त लगानीमा आयोजनाहरू सञ्चालन गर्ने भनेर समझदारी हुन्छन् । त्यसपछि सम्मेलन सम्पन्न भयो भनेर ठुलो समारोहको अन्त्यपछिको बेहाल जस्तो नहोस् । जो जोसँग समझदारी र सम्झौता भएको उनीहरूसँग निरन्तर ‘फलोअप’ होस् । निरन्तर संवादमा रहनुपर्‍यो,” उहाँले सुझाव दिनुभयो । 

लगानीका लागि भौतिक सुरक्षा पहिलो र महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा.खतिवडाले मुनाफा हुने किसिमको आर्थिक वातावरण, कर र वित्तीय प्रणाली पश्चगामी हुँदैनन् भन्ने सुनिश्चितता गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यी कुरा सम्मेलनमा पक्कै प्रतिबद्धता व्यक्त गर्छौँ, यी कुरालाई कार्यान्वयन गरेर देखाउनुपर्छ । हामी गर्ने छौँ भनेर उधारो कुरा गरेर फेरि अर्को लगानी सम्मेलन अगाडिसम्म केही नगर्ने स्थिति हुनु हुँदैन ।” रासस