• २७ वैशाख २०८१, बिहिबार

डढेलोले सामुदायिक वनमा क्षति, एकको जलेर मृत्यु

blog

डडेल्धुराको वन जङ्गलमा लागेको डढेलो । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी
डडेल्धुरा, वैशाख १५ गते । 
डढेलोले यहाँ सामुदायिक र सरकारी वनजङ्गल सखाप पार्दै आएको छ । सुख्खायाम र आगलागी हुँदा समुदायले वर्षौँदेखि जोगाएका वनजङ्गल नासिँदै गएका छन् । आगलागी हुँदा एक जनाको मृत्यु समेत भएको छ । आगलागीमा परी नवदुर्गा गाउँपालिका–३ का ६४ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीका अनुसार चुनारा आफ्नै खेतबारीको घेरबार हाल्न काँडा काट्दै थिए । कडा र झाडी काट्ने क्रममा शुक्रबार दिउँसो लडेर उहाँ आगेमा पर्नुभएको थियो । सोही ठाउँका दीपक राज उप्रेतीको खरबारीमा लगेको आगोमा खस्दा चुनाराको मृत्यु भएको उहाँले बताउनुभयो ।

चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो । चुनाराको आगलागीमा परी मृत्यु भएको जाहेरी उहाँका छोरा मानबहादुर चुनाराले एकाले प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । अहिले जिल्लाका प्रायः सबै ठाउँहरूमा आगलागी भइरहेको छ । लामो खडेरीका कारण आगलागीका घटना बढिरहेका छन् ।

यसैगरी, अजयमेरु गाउँपालिका १ शिखर सुईडोव सामुदायिक वनमा २० वर्षपछि आगो लाग्दा जङ्गल सखाप भएको छ । जङ्गली वन्यजन्तु प्रभावित भएको स्थानीयको भनाइ छ ।  अजयमैरु १ कै बालकल्याण मावि विद्यालय परिसरको सामुदायिक वनमा लागेको डढेलोले विद्यालयको बगैँचामा क्षति पुगेको वडा अध्यक्ष दत्ति सिंह भण्डारीले जानकारी दिनुभयो । विद्यालय परिसरमा पसेको आगो स्थानीय, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रण हुँदा विद्यालयमा थप क्षति हुनबाट जोगिएको शिक्षक पदमराज पन्तले बताउनुभयो ।

भित्री मधेश जोगबुडा क्षेत्रको परशुराम नगरपालिका–३ मार्कु बस्ती रहेको जङ्गलमा मङ्गलबार दिउँसोदेखि भीषण आगलागी भएको छ । वन क्षेत्रमा लागेको डढेलोबाट आगोका झिल्डा हावाले उडाई वस्तिमा पुर्‍याउँदा स्थानीयका घरहरुमसमेत समेत क्षति पुगेको वडा अध्यक्ष नरेशबहादुर खवासले बताउनुभयो ।

२७ परिवारको बसोबास रहेको मार्कु बस्तीमा आगोले अधिकांश घर गोठमा क्षति पुगेको स्थानीय अगुवा रामसिंह थलालले जानकारी दिनुभयो । आगलागीबाट स्थानीयका पाँच घर र गोठमा क्षति पुगेको छ । खर, पराल, गाज्यौ र गोठेमलको थुप्रोमा आगलागी भएपछि घर र गोठ पनि नष्ट भएको हो ।

वन जङ्गलमा भइरहेको आगलागीका विषयलाई गम्भीर रूपमा लिई तयारी अवस्थामा रहेको प्रहरीको भनाइ छ । खासगरी बस्तीतिर आउने आगो नियन्त्रकमा प्रहरी बढी सक्रिय हुने र जोखिम न्यूनीकरण गर्न लागिरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । भित्रिमधेशमा भइरहेको ढडेलोको क्षति कम गर्न इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी प्रमुख इन्स्पेक्टर गगनसिंह भाटले स्थानीयलाई सचेत गराइरहेको पनि उहाँको भनाइ छ ।

भित्री मधेशका परशुराम क्षेत्रमा आगलागी भएपछि तोडिन्ना, लोपा, शीर्ष, बुङा, गगरखेतलगायतका क्षेत्र प्रभावित भएका छन् ।जिल्लाको चुरेक्षेत्र, महाभारत र लेकालीवस्तीमा आगालगाीका कारण जङ्गल डढेलोका कारण विनाश भइरहेको छ । गाउँमा खानेपानीको समस्या र जनशक्ति अभावका कारण आगो नियन्त्रण गर्न कठिनाइ भइरहेको गुनासो स्थानीयको छ ।

समयमा सावधानी नअपनाउँदा लाखौँको क्षति व्यहोर्नु परेको छ भने वन्यजन्तुसमेत प्रभावित भइरहेका छन् । पछिल्लो समय मानवीय असावधानीका कारण जिल्लाका अधिकांश वन क्षेत्रमा भीषण आगलागी भइरहेको छ । वर्षैदेखि जोगाएका वन तथा खेतबारी नष्ट हुँदै गइरहेका छन् ।