प्रकाशविक्रम शाह
धनगढी, वैशाख १५ गते । बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनुभयो ।
उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात वटा पालिकामा जय पृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाट निर्वाचन पर्यवेक्षणमा रहनु भएका अभयराज जोशीले मतदानमा जनताको सहभागिता कमजोर रहेको बताउनुभयो । यद्यपि खाना खाएपछि मतदान गर्नेको सङ्ख्या बढ्ने अनुमान छ ।
मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो ।
उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।
सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।