• २७ वैशाख २०८१, बिहिबार

भेरी कोरिडोरको बेलिब्रिज निर्माण तीन वर्षदेखि अलपत्र

blog

भेरी कोरिडोरमा निर्माणाधीन बेलिब्रिज । तस्बिर.सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, वैशाख १५ गते । निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ । भेरी कोरिडोरअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बिचको भेरी नदीमा रहेको तल्नु बगर बेलिब्रिज तिन वर्षमा  निर्माण हुन नसकेको हो ।  

चीन नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा रहेको भेरी कोरिडोरलाई पूर्णता दिने महत्त्वपूर्ण उक्त पुल निर्माणमा सुरु देखि नै ढिला-सुस्ती भएको हो । तीन वर्ष अघि सडक डिभिजन कार्यालय चौरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो । 

२०७८ साल पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । तल्नुबगरस्थित भेरी नदीमा यातायातका साधन वारपारको तत्कालीन समस्यालाई समाधान गर्नका सडक डिभिजन कार्यालयले बेलिब्रिज पुल बनाउन ठेक्का खुलाएको थियो ।

एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चरम ढिलासुस्तीले गर्दा अझै पुल निर्माण हुन नसकेको बताइएको छ । थोरै समयमा जडान गर्ने गरी डिजाइन गरिएको अस्थायी प्रकृतिको बेलिब्रिज पुल निर्माण गर्नै पक्की पुल सरह समय लगाएपछि नागरिकले महँगीको चरम मार खेप्नु परेको छ ।

जाजरकोटमा रहेको भेरी कोरिडोर कार्यालयले पुल निर्माण एक महिना भित्र सम्पन्न हुने बताएको छ  ।  भेरी कोरिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले पुल निर्माणको काम नब्बे प्रतिशत सकिसकेको जानकारी दिनु भयो । ‘पुलको नट हाल्ने काम सकिसकेको छ,अब पुलको बिचमा लाग्ने बेस प्लेट हाल्न बाँकी छ, पनि चितवनबाट मगाइएको छ, सम्भवतः तीन दिनमै पुग्ला’, रञ्जितकारलको भनाई छ । 

भेरी कोरिडोर कार्यालयका अनुसार १ सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ ।