• २६ वैशाख २०८१, बुधबार

आञ्चलिकताको प्रतिविम्ब

blog

साहित्यलाई वर्तमानमा चेतनाको एक अङ्गको रूपमा स्वीकार गरिएको छ । यसैले नेपाली साहित्य निकै उर्वर देखिएको यथार्थ हो । स्वदेशमा सृजित नेपाली साहित्य र प्रवासमा सृजित नेपाली साहित्यको विषयवस्तुको अध्ययन गर्ने हो भने खासै पृथक् नदेखिए पनि साहित्यमा आउने परिवेशमा भने अलग्गै मिठास पाइन्छ । मुख्य गरी आख्यान विधाको कथानकले लिने परिवेश चित्रणले पाठकलाई विविधताको अनुभूति दिलाउने गरेको छ । एकै किसिमको सैद्धान्तिक उद्देश्य लिएर रचिएका दुई नितान्त पृथक् भौगोलिक परिवेशको आख्यानले अन्ततः उद्देश्यमा पनि भिन्नता ल्याउन सक्छ । यसर्थ कथा र उपन्यासमा परिवेशको सशक्तताले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । गोपाल अश्कका आख्यानमा आञ्चलिक परिवेश अझ बेजोड बनेर आएको हुन्छ ।

गोपाल अश्क भोजपुरी, नेपाली र हिन्दी भाषाका विभिन्न साहित्यिक विधामा समान रूपले कलम चलाउने सशक्त साहित्यकार हुन् । काव्य, नाटक, आख्यानका साथै अनुवादमा पनि सिद्धहस्त अश्क आख्यानमा आञ्चलिकताको प्रयोग गर्ने सचेत आख्यानकार हुन् । उनको पछिल्लो आख्यानकृति ‘कालो गुलाफ’ पनि आञ्चलिकताको प्रतिविम्बकै रूपमा प्रकाशित भएको छ । ओरिएन्टल पब्लिकेसन हाउसले आश्विन २०८० मा प्रकाशन गरेको ‘कालो गुलाफ’ कथासङ्ग्रहमा सङ्कलित सम्पूर्ण कथाले कुनै न कुनै रूपमा आञ्चलिक परिवेशको सबलतापूर्वक चित्रण गरेका छन् । ‘कालो गुलाफ’ भन्नु नै ‘कालो वर्णको मानिस’ हो जो सामान्यतया तराई मधेशमा बस्छ । कथाकार अश्कले कालो वर्णको मधेशी नेपालीलाई प्रतीकात्मक रूपमा ‘कालो गुलाफ’ को संज्ञा दिँदै सम्पूर्ण नेपालीमा एकात्मकताको भाव हुनुपर्ने स्पष्ट पारेका छन् । कथासङ्ग्रहको शीर्षक नै यही कथाको शीर्षकबाट राखिएको हुनाले ‘कालो गुलाफ’ ले घाम धेरै लाग्ने र गर्मी धेरै हुने परिवेशमै रचिएका कथाहरूको बाहुल्य भएको सङ्केत पनि गरेका छन् । 

सङ्ग्रहमा कालो गुलाफ, एउटा लेखकको आत्मकथा, प्रेमको मृत्यु, सम्पादक, नचिताएको कुरा, डा. दिलवर दिल, मत्स्यगन्धा, वेदनाको फूल, पलायन, बुबा ! हजुरबा खोइ ?, भैया !, अनुगूँज, अन्तर्संवाद, जन्मकुन्डली र आजभोलि गरी १५ कथा सङ्कलित छन् । सङ्ग्रहमा परेका अधिकांश कथा मुख्य गरी काठमाडौँ केन्द्रित पत्रिका तथा अनलाइनमा प्रकाशित भइसकेका छन् । सङ्ग्रहमा समेटिएका कथाहरूलाई विषयवस्तुका दृष्टिकोणले सामाजिक यथार्थ र मनोवैज्ञानिक यथार्थ गरी दुई प्रकृतिमा तथा सामाजिक र पारिवारिक समस्यामा केन्द्रित मान्न सकिन्छ । साहित्य, साहित्यकार तथा साहित्यिक कर्मसित जोडिएका कथाहरूले पनि यस सङ्ग्रहमा पर्याप्त स्थान पाएका छन् । यदि कथामा प्रयोग गरिएका पात्रहरूतिर ध्यान दिने हो भने अश्कले मूल रूपमा उमेरको उत्तरार्धमा पुगेर जीवनको कुनै जटिलतामा फसेका, विवशताले उकुसमुकुस हुन पुगेका, अपहेलित, तिरस्कृत, उपेक्षित वृद्धवृद्धाहरू बढी मात्रामा प्रयोग गरेका छन् । नैबन्धिक वा वर्णनात्मक, आत्मपरक वा संस्मरणात्मक तथा आत्मकथात्मक, मनोवादात्मक तथा कौतूहलपरक शैलीमा लेखिएका अश्कका कथाहरू यथार्थवादी बढी छन् । कथामा पात्र र परिवेश अनुसार जीवन्त संवादको प्रयोग गरिएको छ । यद्यपि कतै कतै स्वैरकल्पनात्मक प्रस्तुति पनि कथामा पाइन्छ । ‘कालो गुलाफ’ भित्रका कथाहरूमा सन्देशले परिवेश र परिवेशले सन्देश गरी एकअर्काको परिपूरकको रूपमा आएका छन् । कथामा प्रत्यक्ष रूपमै बढी र कतिपय अवस्थामा परोक्ष रूपमा पनि तराई मधेशकै परिवेश प्रमुख भएर आएको छ । 

यस सङ्ग्रहमा परेका कथाका कथानकले ओगट्न पाएको भावभूमि नै मुख्यतः मधेश प्रदेश हो । मधेश प्रदेशको वीरगन्ज र आसपासको परिवेशलाई कथाको रूपमा उतारिएको छ । पर्यावरणलाई जीवन्त बनाउनका लागि आवश्यक परिवेश सिर्जना गरिएको छ । यथार्थलाई प्रस्तुत गर्न साहित्यिक रङ भरिएको छ । कलात्मकता पनि मधेशकै पर्यावरण अनुकूल प्रयोग गरिएको छ । परिवार, समाज वा साहित्य तिनै विषयमा मधेशको सुगन्ध पाइन्छ । सम्भवतः कथाकारको गृह परिवेश वीरगन्ज भएकाले आफूले बाँचेको तथा भोगेको परिवेश र समयलाई कथाकारले सशक्त रूपमा चित्रण गरेका छन् । अहिले टाँगा पाउन मुस्किल छ तर केही वर्षअघिसम्मको त्यस यथार्थतालाई जीवन्त बनाइएको छ, जसले निकट विगतलाई सफलतापूर्वक वर्तमान बनाएको छ । कथाकारले आफ्नो समाजको संस्कृति, संस्कार, व्यक्तिको प्रवृत्ति, मनोवृत्ति तथा दृष्टिकोणलाई अत्यन्त सहज भावमा प्रस्तुत गर्न सकेका छन् । आफूले भोगेको यथार्थले जस्तै कथाकारले विभेद, असन्तुष्टि, विकृति, विसङ्गति, पीडा, उद्वेलन तथा मनोवैज्ञानिक दबाबलाई प्रस्तुत गर्न सक्नु सङ्ग्रहको सफलता हो । मानवीय संवेदनाका विविध पक्षलाई एउटै कथामा उद्घाटन गर्न सक्नु र संवेदनालाई विस्तार गर्दै विभिन्न कथामा संवेदनाका विभिन्न पक्षलाई उजागर गर्न सक्नु कथाको विशेषता बन्न पुगेको छ । कतिपय कथामा लाग्छ, कथा पढेको होइन, यथार्थ भोगेको र देखेको हो । पात्रको रूपमा कथाको सहयात्री बनाउन सक्नु कथाको वैशिष्ट्य हो ।

 अश्क आञ्चलिक विषयवस्तुका सशक्त कथाकार हुन् भन्ने तथ्यलाई ‘कालो गुलाफ’ ले प्रमाणित गरेको छ । सिद्धहस्त कथाकार अश्कको आगामी कथायात्रा अझ सशक्त र आञ्चलिक परिवेशलाई वैश्वीकरण गर्ने क्षमतायुक्त हुने विश्वास गर्न सकिन्छ । 

Author

सञ्जय साह मित्र