• २५ वैशाख २०८१, मङ्गलबार

कक्षा १२ को परीक्षा दिँदै जनप्रतिनिधि

blog

परीक्षामा सहभागी हुँदै मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख १४ गते। “पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।” भन्ने कुरालाई मकवानपुरका जनप्रतिनिधिले चरितार्थ गरिदिनुभएको छ।पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा हुनुभयो।यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लाग्नुभएको छ।

उहाँ शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको छ।उहाँले निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिइरहनुभएको छ।उहाँ विद्यालय पोशाक लगाएर बिहानै परीक्षामा सहभागी हुन परीक्षा केन्द्रमा पुग्नुभएको थियो।

शुक्रबार भएको अंग्रेजी परीक्षा अत्यन्तै राम्रो भएको बताउँदै राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले अब पढाइलाई निरन्तरता दिने बताउनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् बाल जीवन ज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका खनालले शिक्षा अति नै महत्त्वपूर्ण रहेको र शिक्षाले नै सबै ढोका खोल्ने आफूले महसुस गरेको भन्दै आफू १२ कक्षाको परीक्षामा सहभागी भएको बताउनुभयो ।

२०५६ सालमा एसएलसी पास गर्नुभएका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बिचमै छाड्नुभएको हो।

उहाँ अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ।उहाँले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गर्नुभएको थियो।

उहाँ मनहरीमा रुचाइएका जनप्रतिनिधि मध्य एक हो।उहाँलाई जनताले दुई पटक वडा अध्यक्षमा मतदान गरी निर्वाचित गराएका छन्।उहाँ जनताको काम आफ्नै सम्झेर गर्ने वडाध्यक्ष हुनुहुन्छ।