• २३ वैशाख २०८१, आइतबार

रजबहादुर हत्याका आरोपी १६ वर्षपछि पक्राउ

blog

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख १४ गते । कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावतलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ ।

उहाँलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले रावत पक्राउ गरेको पुष्टि गर्नुभयो । चार दिनअघि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरे पनि आजसम्म घटनालाई गोप्य राखिएको थियो ।

२०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा रजबहादुर माथि बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । यो प्रकरणमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको थियो । तर आरोप लागेका ६ जनामध्ये अन्य कसैलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । अन्य आरोपीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ ।

हत्याका मुख्य आरोपी हाल पक्राउ परेका टाइगर भनेर चिनिने पदमबहादुर रावत रहेको दाबी प्रहरीको छ । रजबहादुरको हत्या आरोपमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध नौ माघ २०८० मा दोस्रो पटक पक्राउ पूर्जी जारी भएको थियो ।

यसअघि १३ साउन २०७९ मा पनि पक्राउ पूर्जी जारी भएको थियो । पञ्चा सिंहसँगै हाल पक्राउ परेका पदमबहादुर, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनिहरु राजनीति आडमा खुलेम हिडिरहेका थिए ।

यसरी मारिएका थिए मल्ल
कालीकोटका रजबहादुर मल्लसुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै थिए । कालीकोटकै तत्कालीन पाखा गाबिसस्थित विद्यालयबाट एसएलसीमा प्रथम भएका उनी उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका थिए । विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो ।

गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै रजबहादुरले त्यसको विरोध गरेको र सोही विवादका क्रममा छोराको ज्यान गएको बुवा नन्दबहादुर मल्लको दाबी छ ।

नन्दबहादुरले छोराको हत्यामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका नेता–कार्यकर्ताहरूको संलग्नता देखिएको भन्दै १३ साउन २०७९ मा पूरक जाहेरी दिनु भएको थियो । दैलेखका थप दुई जनाको भने पहिचान नखुलेकाले जाहेरीमा नाम राखिएको थिएन ।