• २४ वैशाख २०८१, सोमबार

चामे–नार्पाभूमि सडकखण्डमा काम गर्ने मजुदर मृत अवस्थामा फेला

blog

यदुप्रसाद भट्ट
मनाङ, वैशाख १४ गते ।
चामे–नार्पाभूमि सडकखण्डमा काम गर्ने मजुदर मृत अवस्थामा भेटिएका छन् । मनाङ चामे गाउँपालिका–५ ढल्केभीर खण्डमा रोल्पा थवाङ गाउँपालिका–३ मिरुल घर भएका अन्दाजी ४७ वर्षीय सतबहादुर बुढामगर बिहीबार राती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

चामे–नार्पाभूमि सडक खण्डका ठेकेदार दिनेश बुढामगरले बिहीबार राती प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय क्युपारको प्रहरीसहित सात जनाको टोलीले मृतक बुढामगरको शव सदरमुकाम चामे ल्याएको थियो । विकट तथा दुर्गम स्थान भएकाले चार घण्टाको प्रयासपछि बुढामगरको शव पोस्टमार्टमका लागि चामे ल्याइएको प्रहरीले जनाएको छ ।

मृतक बुढामगर दुई/तीन दिनदेखि बिरामी रहेको तथा मानसिक अवस्था पनि ठीक नभएको बुझिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले पोस्टमार्टमपछि मात्र सबै कुरा खुल्ने बताउनुभयो । खाना खाएर अस्पताल जान्छु भनी हिँडेका बुढामगर साँझसम्म पनि नआएपछि खोजतलास गर्दा ढल्केभीरमा मृत अवस्थामा भेटिएपछि ठेकेदारले प्रहरीलाई खबर गरेका थिए ।