• २३ वैशाख २०८१, आइतबार

इतिहास खोतल्ने तस्बिर

blog

काठमाडौँ, वैशाख १४ गते । धार्मिक आस्था र विश्वासको पर्याय रहेको विष्णुमती नदी यतिबेला दुर्गन्धित छ । आमबुझाइमा दुर्गन्धको विम्ब बनेको विष्णुमतीमा २०४७ सालसम्म माछा मारिन्थ्यो र निर्विध्न रूपमा पौडी खेलिन्थ्यो । गोरखापत्रमा त्यो समय छापिएको तस्बिर र क्याप्सनले त्यही भन्छ ।

२०३६ सालको जनमतसङ्ग्रहताका खुला सभामा बिपी कोइरालाले भाषण गरिरहनुभएको दुर्लभ तस्बिर, जनमतसङ्ग्रह, २०४५ सालको नाकाबन्दीमा जनजीवन, २०४० सालमा आयोजित दार्जिलिङ ११ र बागमती ११ बिचको महिला फुटबल खेल, २०४२ सालको बम काण्ड, २०४४ साल फागुन २९ गते दशरथ रङ्गशालामा भएको भागदौडलगायत इतिहासका महत्वपूर्ण कालखण्डका तस्बिर गोरखापत्रसँग छ । तिनै तस्बिरको प्रदर्शनी गोरखापत्रमा सुरु गरिएको छ । 

विक्रम संवत् १९५८ साल वैशाख २४ गतेबाट साप्ताहिक रूपमा प्रकाशन आरम्भ भएको गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पदाको जिउँदो दस्तावेजका रूपमा रहिआएको छ । गोरखापत्रले सर्वसाधारणको न्युज फोटो छाप्न थालेको १९८४ वैशाख १३ गतेदेखि हो । जुन दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाइन्छ । सोही सन्दर्भ पारेर गोरखापत्र संस्थानले गोरखापत्रमा छापिएका राजनीतिक, सामाजिक, जनजीवन, खेलकुद, संस्कृतिसम्बन्धी महत्वपूर्ण तस्बिर प्रदर्शनी सुरु गरेको छ ।

 प्रदर्शनीमा २०३० देखि २०६० सालसम्मका १७० वटा तस्बिर राखिएको छ । प्रदर्शनीमा स्लाइड सोसहित एनालग क्यामरादेखि डिजिटल युगका सुरुवाती समयका क्यामरासम्म प्रदर्शनीमा राखिएका छन् । 

गोरखापत्र संस्थान, फोटोग्राफी तथा आर्ट शाखाका प्रमुख रामप्रसाद हुमागाईंका अनुसार, गोरखापत्रमा पहिला सूचना विभाग र अन्य व्यक्तिबाट प्राप्त तस्बिर मात्र छापिन्थे । २०३० सालपछि मात्रै गोरखापत्रकै फोटोग्राफरले खिचेका तस्बिर छापिन थाले । 

गोरखापत्रमा पहिलो फोटोग्राफरका रूपमा गोपाल चित्रकारको प्रवेश भएको थियो । त्यसपछि मात्रै गोरखापत्रमा डार्करुम स्थापना गरी फोटो खिच्ने, धुलाउने र प्रिन्ट गर्ने कार्य थालनी भएको शाखा प्रमुख हुमागाईंले जानकारी दिनुभयो ।