• २३ वैशाख २०८१, आइतबार

मधेश सुपर ओभरमा विजयी

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १३ गते । मधेश प्रदेशले वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा पराजित गरेको छ ।

मुलपानी मैदानमा बिहीबार भएको खेलमा जितका लागि एक सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेर सकिएको थियो 

सुपर ओभरमा सुदूरपश्चिमले दिएको आठ रनको लक्ष्य मधेशले एक बल बाँकी छँदा पूरा गरेको हो । यसअघि सुदूरपश्चिमका लागि बसन्त खत्रीले ३८, किरण ठगुन्नाले अविजित २३, अविशेक पालले २२ र बसन्त कार्कीले १५ रन बनाउनुभयो । बलिङमा मधेशका रञ्जित कुमारले तीन विकेट लिनुभयो । विशाल सुश्लिङले दुई तथा अविशेक तिवारीले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा  एक सय २१ रन बनाएको थियो । मधेशका लागि रोहन विकले सर्वाधिक ४६ रन नबाउनुभयो । कप्तान राहुल मण्डलले २३, अविशेक तिवारीले अविजित २१ र विशाल पटेलले १४ रन जोड्नुभयो । 

बलिङमा सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामी, नरेन साउद र शेर मल्लले समान दुई दुई तथा नारायण जोशीले एक विकेट लिनुभयो । जितसँगै ६ खेलबाट आठ अङ्क बनाएको मधेश तेस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम पाँच खेलमा चार अङ्क जोड्दै पाँचौँ स्थानमा छ । 

अर्को खेलमा कर्णालीले कोशी प्रदेशलाई पाँच विकेटले हरायो । जितका लागि ९४ रनको लक्ष्य पछ्याएको कर्णालीले ६.३ ओभरमा पाँच विकेटको क्षतिमा ९७ रन बनाएको थियो । यसअघि पहिले ब्याटिङ गरेको कोशीले १९.३ ओभरमा सवै विकेटको क्षतिमा ९३ रन बनाएको थियो ।

जितसँगै कार्णालीले ६ खेलबाट आठ अङ्क बनाएको छ । पराजित कोशी समानखेलबाट अङ्कविहिन बन्दै अन्तिममा छ ।