• २३ वैशाख २०८१, आइतबार

स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित बिदाइ

blog

सम्मान तथा बिदाइ कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, वैशाख १३ गते । लामो समयदेखि माातृशिशु स्याहारमा क्रियाशिल महिला स्वास्थ्य स्वयंसेविकाकालाई सम्मानसहित बिदाइ गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका ११ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको हो । 

दुई दशकभन्दा बढी समयसम्म सेवा गरेका तथा ६० वर्ष उमेर पुगेका स्वयंसेविकाको भूमिकाको मूल्याङ्कन गरेर ७० हजार नगदसहित बिदाइ गरिएको हो । मातृशिशु स्वास्थ्य क्षेत्रमाा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई ६० वर्ष उमेरपछि बिदाइ गर्ने गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । पछिल्लो समय तीन तहकै सरकारले स्वयम्सेविकाको भूमिकाको मूल्याङ्कन गरेर रकमसहित बिदाइ गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले ग्रामीण क्षेत्रमा सुत्केरी महिलाको सेवा गरेर स्वयम्सेविकाहरूले राज्यका लागि अमूल्य सहयोग गरेको बताउनुभयो । बिदाइ भए पनि स्वास्थ्य स्वयंविकाहरूले आफ्नो अनुभव समाजको हितमा बाँड्न सक्ने उहाँले उल्लेख गर्नुभयो । बिदाइ हुने पूर्वखोला रिङ्नेरहकी स्वास्थ्य स्वयंसेविका सीता आचार्यले आफूहरूले मातृ तथा शिशुको मृत्युदर घटाउन र उनीहरूको स्वास्थ्य उपचारमा सकेको सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "पैसा ठूलो कुरा होइन भनेर हामीले दुई÷तीन दशकसम्म सेवा गर्याे, अबदेखि भूमिकामा नरहे पनि आवश्यक परेको बेला सहयोग गर्छौँ ।"

स्वास्थ्य स्वयंसेविकालाई पछिल्लो समय पाल्पाका स्थानीय तहहरूले समेत रकमसहित बिदाइ गर्ने नीति लिएका छन् । जिल्लाको अधिकांश पालिकाले उमेर तथा अन्य कारणले बिदाइ हुने स्वयंसेविकालाई रकमसहित बिदाइ गर्न थालेको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वखोला गाउँपालिकाले २५ हजार रुपियाँ स्वास्थ्य स्वयंसेविकालाई दिने गरेको छ ।