• २३ वैशाख २०८१, आइतबार

बर्थिङ सेन्टरमा सुत्केरी बढ्दै

blog

जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकमा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी गराउँदै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकी प्रमुख दुर्गा बजागाईं र सहभागी।

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख १३ गते। पछिल्लो समय सिन्धुपाल्चोकमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विभिन्न स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेपछि बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेको हो। बर्थिङ सेन्टरमा हरेक वर्ष सयौँ सङ्ख्यामा सुत्केरी हुने बढेका छन्।

जिल्लाभर ५५ वटा बर्थिङ सेन्टर छन्। तर सुत्केरीलाई आवश्यक पर्ने रगतका लागि ब्लड बैङ्क एउटा पनि नहुँदा सुत्केरीको ज्यान जोखिममा हुने गरेको जनस्वास्थ्य सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजागाईंले जानकारी दिनुभयो। ब्लड बैङ्कका लागि तीन तहका सरकारले ध्यान दिनुपर्ने उहाँले आग्रह गर्नु भएको छ। 

जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकमा प्रमुख बजागाईंले उक्त तथ्य बताउनुभएको हो। प्रजनन् स्वास्थ्य सम्बन्धी क्रियाकलापको समीक्षा, लेखाजोखा तथा कार्ययोजना बारे छलफल गर्दे बजागाईंले गर्भवती, सुत्केरीलाई निःशुल्क हवाई सेवा दिन बारे सम्बन्धित माथिल्लो निकायमा कुरा राखेको जानकारी दिनुभयो। गत वर्ष हेलम्बु गाउँपालिकाले सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरेर राजधानीका अस्पताल पुर्‍याएको थियो। 

आर्थिक वर्ष २०७९/०८० नौ जना नवजात शिशुको मृत्यु भएकोमा चालु आर्थिक वर्षमा नवजात शिशु मृत्यु नभएको प्रमुख दुर्गाले बताउनुभएको छ। तर मातृ मृत्युदर भने चालु आवमा चौतारा साँगचोकगढी नगरपालिकामा दुई जनाको निधन भएको उहाँले दुखेसो पोख्नुभयो। 

स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम मार्फत आमा र बच्चाको सुरक्षाका कार्य गर्दे आएको बजागाईंले थप्नु भएको छ। स्वास्थ्य संस्थामा गर्भजाँच, खोप, सुत्केरी हुनेमा उल्लेख्य वृद्धि भएको उक्त कार्यालयले जनाएको छ।