• २२ वैशाख २०८१, शनिबार

पुतलीबजार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख १३ गते । पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्णखोपसँगै दिगोपनाको सुनिश्चितताका लागि प्रतिबद्धता समेत गरिएको हो । 

शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ पालिका पूर्ण खोप सुनिश्चितता गरिएको हो । 

नगरप्रमुख तुलसीराम रेग्मीले पालिका भित्रका सबै बालबालिकालाई खोप उपलब्ध गराएकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । बालमृत्युदर घटाउन राज्यले प्रति बालबालिकाका निम्ति हजारौँ लगानी गरेको जनाउँदै यसको उपयोग गर्न समेत नगरप्रमुख रेग्मीले सुझाव दिनुभयो । उहाँले बर्सेनि बालबालिकाको जन्मने बताउँदै अभियानलाई पालिकामा निरन्तरता दिने बताउनुभयो । यहाँ घरधुरी सर्वेक्षकमार्फत घरघरमा पुगेर सात पटकमा १३ प्रकारका खोप बालबालिकालाई लगाइएको हो । 

नगर उपप्रमुख देवी अर्यालले नगरभित्रका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिमका खोप उपलब्ध गराउन सबैले चासो दिनु पर्नेमा जोड दिनुभयो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर थापाले पुतलीबजार नगरपालिकामा १६ देखि ५९ महिनाभित्रका एक हजार ८२२ जनालाई पूर्ण खोप लगाएको बताउनुभयो ।  यहाँ वर्षेमा चार सय देखि पाँच सय सम्म शिशु जन्मने गरेका छन् ।