• २२ वैशाख २०८१, शनिबार

झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

blog

बनियानी (झापा),  वैशाख १३ गते । झापाको कनकाई र भद्रपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकामा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । सोही मोटरसाइकलमा पछाडि मेचीनगर–१० का २९ वर्षीय प्रसन्न दनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति नै भद्रपुर नगरपालिका–८ नमुना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । 

भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे४प ४८९६ नम्बरको मोटरसाइकले पैदलयात्री हाल नाम, थर वतन नखुलेको अन्दाजी ८० वर्षीया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

वृद्धाको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । मोटरसाइकल र चालक भद्रपुर–८ का ४९ वर्षीय बिसन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । रासस