• २२ वैशाख २०८१, शनिबार

पर्यटकीय स्थल डहरे र अन्धाअन्धी दहको प्रवर्धन

blog

डहरे देउरालीमा समाजका सदस्य र स्थानीयहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख १३ गते । अर्जुन चौपारी गाउँपािलका –५ मा रहेको धार्मिक पर्यटकीय स्थल डहरे देउराली र आँधीखोला –२ मा रहेको अन्धाअन्धी दहको प्रवर्धनमा कास्केली अधिकृत समाज जुटेको छ । 

समाजले हरेक वर्ष धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्धन गर्दै अएकोमा यस वर्ष प्राचीन कालदेखि चर्चामा आएका तीर्थस्थल डहरे देउराली, अन्धाअन्धी दहलाई समेटेको हो । समुद्र सतहदेखि दुई हजार २६६ मिटर उचाइमा रहेको डहरे देउराली प्राचीन धर्मग्रन्थमा पनि उल्लेख भएको तीर्थस्थल हो ।  

मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरेका पीठाधीश पशुपत्यानन्द गिरीजी महाराजले अठार पुराणमध्येको स्कन्दपुराणमा नीलगिरी पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको बताउनुभयो । 

परापूर्वकालमा यहाँ डगरा नाम गरेका ऋषिले तपस्या गर्नुुभएको र डगरा ऋषिले तपस्या गरेको स्थान भएकाले अपभ्रंश भइ डहरे हुन गएको स्थानीयको भनाइ छ । वि.सं १९९७ मा तत्कालीन पर्वतको लुङ्खुुका षडानन्द अधिकारी (बालब्रह्मचारी) पहराभित्र बसेर तपस्या गर्नुुभएको थियो । 

विशेषगरी नवदुर्गा, शिवरात्री, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मङ्गलबार र शनिबारका दिन यहाँ ठूलो संख्यामा दर्शनार्थी आउने गर्छन् । अग्लो स्थानमा अवस्थित भएकाले यहाँबाट स्याङ्जाका अधिकांश भागसहित पर्यटन राजधानी पोखरा र आसपासका कुस्मा, बाग्लुङलगायत जिल्लाका बजार, हिमशृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य  देख्न सकिन्छ । 

सो क्रममा आँधिखोला गाउँपालिका –२ मा पर्ने अन्धाअन्धी दहको पनि प्रवर्धनात्मक भ्रमण गरिएको समाजले जनाएको छ । अन्धाअन्धी दह श्रवणकुमारको ऐतिहासिक कथासँग सम्बन्धित छ ।  

किंवदन्तीअनुसार आफ्ना दृष्टिविहीन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिडेको क्रममा बाबाआमालाई तिर्खा लागेछ । नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो । 

आफ्ना छोराको मृत्युको वियोगले रोएका तिनै बाबाआमाको आँखाबाट खसेको आँसुले सो दह बनेको विश्वास गरिने गरिएको स्थानीय समाजसेवी लेखनाथ पौडेलले बताउनुभयो । सो दहलाई आँधीखोलाको मुहानका रुपमा लिने् गरिएको छ ।

दुईतर्फ कडा चट्टानसहितको पहाडको बिचमा रहेको दह, ओडारभित्र रहेको श्रवणकुमारका बाबाआमाको मूर्ति आदि यहाँका आकर्षण हुन् भने यस ठाउँमा विशेषतः बालाचतुर्दशीका बेला ठूलो मेला लाग्ने पौडेलले बताउनुभयो ।  

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा आसपासका गन्तव्यको प्रवर्धन जरुरी रहेको आवश्यकतालाई दृष्टिगत गर्दै कार्यक्रम आयोजना गरिएको बताउनुुभयो ।