• २२ वैशाख २०८१, शनिबार

प्रदेश राजधानीमा खानेपानी समस्या

blog

भेरी पम्पिङ आयोजना स्थल झुप्राखोला र भेरी नदीको दोभान । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख १३ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको समस्या सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । स्रोत पर्याप्त नहुँदा सुर्खेतमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ । वीरेन्द्रनगर–४, कुमाईचोककी पार्वती खड्काले दिनहुँ खानेपानीको चिन्ता हुने गरेको बताउनुभयो । गर्मी सुरु भएसँगै पानीको चरम अभाव हुने गर्दा विशेष गरी गृहिणीलाई बढी गाह्रो हुने गरेको उहाँले बताउनुभयो । 

घरमा बिहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दो स्रोत छैन । वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पानी वितरण गर्दै आएको छ । गर्मी लागेसँगै मुहानमा पानी घटेपछि ७२ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताउनुभयो । संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।

यसैबिच सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानको दीर्घकालीन विकल्पका रूपमा भेरी पम्पिङ आयोजना अन्तर्गत निर्माणपूर्वका काम धमाधम अघि बढेका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । प्रदेश राजधानी सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो । छ वर्षपहिलेदेखि नै अध्ययनको काम थालिएको थियो । २०८० जेठ ४ देखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । २०८० असोज १२ गते आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । पहिलो चरण अन्तर्गतका काम धमाधम भइरहेको आयोजना प्रमुख सञ्जीवकुमार शाहले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका–१ देखि १६ सम्मका सबै वडामा खानेपानी तथा सरसफाइको अवस्था विश्लेषण पनि गरिएको छ । 

यसै गरी दोस्रो चरणको काम पनि सुरु गरिएको आयोजनाले जनाएको छ । अहिले दोस्रो चरण अन्तर्गत सर्भे डिजाइनको काम भइरहेको छ । पहिलो चरणको कामको ठेक्का सम्झौता गरेर दोस्रो चरणको काम सुरु गरिने आयोजना प्रमुख शाहले बताउनुभयो । तीन वर्षमा परियोजना सम्पन्न गर्ने गरी काम अघि बढेको पनि उहाँले दाबी गर्नुभयो । 

भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । पहिलो चरणमा संरचना निर्माणका लागि तीन अर्ब २३ करोड रुपियाँ लागत अनुमान छ । आयोजना निर्माणका लागि छ अर्ब रुपियाँ लाग्ने अनुमान छ । भेरी पुल र झुप्राखोलाको दोभान नजिकबाट पानी पम्पिङ गरी अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्कीमा खसालेपछि त्यसबाट अमृतडाँडासम्म सात किलोमिटर लामो पाइप बिछ्याइने छ । ५५० मिलिमिटर वा सोभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्याङ्कीसम्म जडान गरिने छ । त्यहाँ बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुने छ ।