• २४ वैशाख २०८१, सोमबार

डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ आयोजना गर्ने

blog

‘विचार उत्सव’ आयोजनाको विषयमा आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं, वैशाख १२ गते। वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूवातको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ।

नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिनुभयो। 

दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन्। समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण,   साहित्य, संगीत, कला, सहरी सौन्दर्य लगायतका दुई दर्जन विषयमा बहस हुनेछ।  

कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ–आफ्नो विषयमा बहस गर्नेछन्। 

कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूलप्रवचन दिनुहुनेछ। 

यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह–प्राध्यापक तथा विश्लेषक डा.सरोज गिरीले बहस गर्नुहुनेछ। 

उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ। यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगीतिक उत्सव पनि आयोजना गरिने ढुंगेलले जानकारी दिनुभयो। 

डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरूवात भएको थियो। 

मासिक रूपमा बहस शृङ्खला सञ्चालन गर्दै आएको थियो। दश वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले जानकारी दिनुभयो।

विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ‘विचार उत्सव’ क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलको भनाइ छ।